स्थानीय तहको चुनावमा युवालाई अवसर

लेखक: सरोज कुमार महतो

काठमाडौंको मेयरको उम्मेदवार घोषणा भएपछि बालेन शाहले पोडकास्ट अन एयर विथ सञ्जयमा भनेका छन् । “पैसाको लागी उठ्यो भनेर कसैले सोच्छ भने, ५ तलाको घर छ काठमाडौंमा सिधै भन्छु, मैले आफैले कमाएर २५ वर्ष हुँदादेखि गाडी चढ्या हो, पैसाको लागि त हुँदै होइन । मलाई गीत गाउँदा पनि पैसा आउँछ, डिजाइन गर्दा पैसा आउँछ, सुपरभिजन गर्दा पैसा आउँछ, कन्स्ट्रक्सन लिएर गर्दा पैसा आउँछ, मैले इन्ड्रोसमेन्ट गर्दा पैसा आउँछ, आजभोलि म कहिगएर बोल्दिदा पनि पैसा दिन्छन्, जे गर्दा पनि पैसा आउँछ भनेपछि त्यो पैसाको लागि होइन । अनि नामको लागि त पहिल्यै म्युजिक गरिरहेकै छु, मान्छेले गीत सुनिरहेका छन् । चाहिने जति सबैले चिन्नु भएकै छ, त्यो नामको लागि पनि होइन” । 

बालेन शाह उही मान्छे हुन्, जसले केही दिन पहिले देशकै सबैभन्दा ठूलो स्थानीय सरकार काठमाडौं महानगरपालिकाको स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिन्छु भनी घोषणा गरेका  थिए । वहाँले आफ्नो फेसबुकमा लेख्नु भएको थियो “अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं, हामी आफै बनाउँछौँ, उनले ह्यासट्याग गर्दै बालेन फर मेयर र अब युवाको पालो भनेर पनि लेखेका थिए” । बालेन शाह (बालेन्द्र शाह) चर्चित रयापर, म्युजिसियन र इन्जिनियर हुनुहुन्छ । वहाँ पछि कयौँ युवाहरूले “आफ्नो ठाउँ आफै बनाउन अभिप्राय” ले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् र यो क्रम अझ जारी छ । 

नेपालमा आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव हुनलागेको छ । निर्वाचनमा युवा पुस्ताको सक्रियता बढेको देखिन्छ । जसको उदाहरण, काठमाडौ महानगरपालिकाको मेयरमा बालेन शाह, पोखरा महानगरपालिकाको मेयर पदमा युवा लेखक गणेश पौडेलले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै अर्को उदाहरण “अब पालो युवाको, परिवर्तन सम्भव छ” नारा साथ लम्किचुहा नगरपालिकामा मेयरमा उदय भट्ट र वहाँको सहयात्रामा उपमेयर पदमा पुष्पा शाहीले उम्मेदवारी दिने घोषण गरेका छन्, बेनी नगरपालिका मेयरमा युवा निरञ्जन थापा साथै बनेपा नगरपालिकाको मेयरमा अभियन्ता राजानन्द माण्डव्य, र  बाग्लुङ्की ३० वर्षीया नर्स नितु खड्काले बाग्लुङ नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । 

स्थानीय सरकारको चुनाव घोषणा गर्नासाथ राजनैतिक दलहरूले आफ्नो प्रतिनिधि तय गर्ने र चुनावी योजनाका साथमा जनताको घरदैलो अभियानमा निस्कने कार्ययोजनामा सहभागी भइरहँदा यस्ता कयौँ उदाहरण छन्, जसमा राजनीति दलसँग आबद्ध नभई स्वतन्त्र तर्फ युवापुस्ताको राजनीतिमा अग्रसरता देखिएको छ । यसले युवापुस्ता राजनीति तिर आकर्षित भएको र आफूले सोचेको परिवर्तन गर्न आफै अघि बढेको देखिन्छ । देशले नयाँ पुस्ताको आवश्यकता महसूस गरेको अनुमान लगाउन सकिन्छ । पार्टीहरूले युवाहरूलाई स्थान नदिएको कारण, पुराना पार्टीहरूको फोहरी खेलका कारण पनि युवाहरू स्वतन्त्ररूपमा उठ्ने बढे र त्यसका लागि युवायुवती दुवै चुनावमा हौसिएका हुन् । 

उम्मेदवारको योग्यता के हो ? वैशाख ३० गते हुन लागेको चुनावमा देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि आवश्यक ३५,२२१ पदका लागि निर्वाचन हुनेछ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुनपाउने व्यवस्था छ । त्यस अनुसार युवाहरू योग्य छन् । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । ऐन अनुसार अन्य अरू प्रावधानहरू पनि रहेको छ । यी सबै रूपमा म पनि उम्मेदवारको लागि योग्य छु । 

तर, सबै योग्यता क्रम अनुसार योग्य भएर मात्र नहुने रहेछ । अन्य धेरै कुराले पनि प्रभाव पार्ने रहेछ, राजनीतिक पार्टी देशमा हाबी रहेको अवस्थामा र जनता पनि त्यही राजनीतिक दलको लागि मतदान गर्ने हुँदा एक स्वतन्त्र उम्मेदवारको लागि अवसर न्यून र धेरै चुनौतिहरू खडा हुने देखिन्छ । कतिपय युवाहरूले धेरै तिरबाट अवसर पाए पनि सामाजिक, आफ्नो आर्थिक हैसियत, निर्वाचनमा पार्टीगत हाबीका कारण कठीन हुनसक्ने देखिन्छ । 

राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधि विहीन भएकोले गाउँविकासको काम, प्रक्रिया र प्रणालीहरू कर्मचारीको मात्रै काँधमा थियो । दश वर्षे जनयुद्ध र त्यसपछि २०६३/६४ को जनआन्दोलन सहित करिब २० वर्ष लामो सामाजिक, आर्थिक र राजनैतिक अस्थिरता र जनप्रतिनिधि विहीनतालाई चिर्दै २ पटकको संविधानसभाको निर्वाचनपछि वि.स.२०७२ सालमा नेपालले ७० वर्ष भित्रमा सातौँ संविधान पायो । जससँगै नेपाली जनताले आफ्नो लागि जनप्रतिनिधि चुन्ने अवसर पाए ।

पहिलो स्थानीय सरकारको चुनाव २०७४, वैशाख ३१, असार १४ र असोज २ गतेबाट तीन चरणमा निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरूको समयावधि सकिँदै छ । यसो भन्नुको तात्पर्य हामी आम नेपाली जनताहरूले फेरि पाँच वर्ष पछि जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै आफ्ना लागि प्रतिनिधि छान्ने अवसर पाएका छौं । 

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३, (१) मा स्थानीय तहका सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुने व्यवस्था छ यसरी पदावधि सकिनु भन्दा २ महिना अगावै निर्वाचन गरिसक्नु भन्नुले पनि कुनै पनि हालतमा स्थानीय तह जनप्रतिनिधि विहीन हुनुहुँदैन भन्ने तथ्य प्रस्ट पार्दछ । जसको फलस्वरूप चुनाव हुँदैछ । केही समय यता युवाहरू नेतृत्वमा आउनुपर्छ भने चर्चा चलिरहेको छ । जसमा कयौँ युवा आफ्नो पालिकाबाट चुनावमा आउने उद्घोष गरेका छन् र यो क्रम जारी छ । 

“१६ वर्षदेखि माथि ४० वर्षको मानिसलाई युवा मानिन्छ” तर कयौँ मान्छेले भनेका छन् कि “युवा उमेरले हैन, सोचले हुन्छ” यसमा धेरै जसको फरक फरक बुझाई छ । वास्तवमा युवा त उमेरले पनि फरक पर्छ मेरो विचारमा १६ वर्ष माथि ४० वर्ष उमेर सम्मका युवाहरूले चुनावमा अवसर पाउनुपर्छ र अवसर पाएकाहरूले अवसरको सदुपयोग गर्नुपर्छ । 

राजनीतिले हाम्रो जीवन निर्दिष्ट गरिरहेको हुन्छ । हामी आफ्नै सङ्घर्षसँग जुधिरहेका छौँ भन्ने लाग्छ, तर देशको राजनीतिक पद्धतिले रिँगाइरहेको हुन्छ । तसर्थ, हामी सबैले राजनीतिमा चासो राख्नुपर्छ । नेताहरूको स्वार्थ, अहम् र खिचातानीका कारण हाम्रो देशको राजनीतिक वातावरण दिशाहीन, लथालिङ्ग र अस्थिर छ । राजनीति आफैँ सप्रिने वा बिग्रिने विषय होइन । नेतृत्वमा हुने व्यक्तिहरू राजनीतिको मूल मर्ममा इमानदार रहेर सेवा भाव प्रति कटिबद्ध हुन्छन् कि हुँदैनन् भन्ने कुराले फरक पार्छ  । जुनसुकै आस्था वा विचार बोकेका भए पनि हामीले वडादेखि केन्द्रसम्म सही व्यक्ति छनोट गर्नसक्यौँ भने मात्र राजनीतिको माध्यमबाट बाँकी सबै थोक ठिकठाक हुन्छ ।

पाको उमेरका नेताहरूले धेरै बेइमानी गरे, अब पार्टीको जिम्मा दोस्रो पुस्तालाई दिनुपर्छ भन्ने आवाज उठिरहेको छ । तर, मलाई के लाग्छ भने, पुस्ता परिवर्तनसँगै राजनैतिक संस्कारमा पनि परिवर्तन हुनु जरूरी छ । युवा पुस्ता नेतृत्व तहमा पुग्दा समाज प्रति बढी जिम्मेवार र जवाफदेही हुन्छ भन्ने अपेक्षा चाहिँ राख्नसकिन्छ । कारण, नयाँ पुस्ता ऊर्जाशील र अहिलेको विश्वपरिवेशप्रति बढी जानकार हुने हुँदा योग्यता र क्षमता बढी हुन्छ भन्ने आशा राख्नु स्वाभाविक हो । 

राजनीतिमा र नेतृत्वदायी भूमिकामा युवा सहभागिता उल्लेखनीय नहुनु विडम्बना नै हो । विगतमा नेपालको राजनीतिक आन्दोलनको पहलकदमी युवाहरूले नै लिएका थिए । राजनीतिमा सहभागिता कुनै राजनीतिक पार्टीको सदस्यता लिनु मात्रै होइन । सामाजिक मुद्दाहरूमा कार्यान्वयन तहमा युवा सहभागितालाई हेरिनुपर्छ ।

युवाहरूको अवसरहरू त्यहाँ प्रशस्तै देखिने छन् । युवाहरूमा जोस हुन्छ जसले जनताको नजिकको सरकार स्थानीय सरकारमा साधन स्रोतको बाँडफाँड, अनुदानको सही सदुपयोग, जनताको आवश्यकता र पालिकाको कालान्तरका लागि विकासयोजना बनाउनसक्छ र केही युवाहरू आयो भने धेरैको लागि प्रेरणाको स्रोत हुने छ ।

युवा आउनुपर्छ भन्दाभन्दै पनि पुरानो पुस्ताले राजनीतिमा बलियो जरागाडेर बसेको छ  । हाम्रा नेताहरू नयाँ पुस्तालाई सजिलै नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । तर, नेतृत्व परिवर्तनका लागि युवाले निरन्तर प्रयास अनि संघर्ष गरिरहनुपर्छ । भनिन्छ नि युवा परिवर्तनको संवाहक हुन् र वास्तविक यो सत्य हो । 

पछिल्लो पटक, २०७४ सालको स्थानीय चुनावबाट नेतृत्व आउँदा म आशावादी थिएँ । कम्तीमा राजनीतिक स्थिरता हुने भयो, सामान्य नागरिकका लागि आर्थिक रूपले सबल हुने न्यूनतम वातावरण बन्ने भयो भन्ने लागेको थियो । तर, त्यस्तो स्थिरता आएन । अब युवाले जनताको नजिकको सरकारमा नेतृत्वमा आएर परिवर्तनकारी भूमिका खेल्नु पर्छ ।

The graphics, views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Centre for Social Change.

सरोज कुमार महतो को स्थायी घर बटेश्वर धनुषा हो ।  विगत दुई वर्षदेखि स्थानीय सरकारमा कार्यरत महतो नेपाल युवा परिषद्को केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

©2021 Centre for Social Change, Kathmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *