आर्थिक विकास र समृद्धिका लागि विधिको शासन

Photo by: Anish Khatri

 लेखक: रामचन्द्र अधिकारी

जहानियाँ राणा शासन, बहुदलीय व्यवस्था, राजाको प्रत्यक्ष नेतृत्वमा निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था पार गर्दै अहिले हामी संघीय गणतन्त्रात्मक व्यवस्थामा छौँ । विभिन्न शासकीय स्वरूपहरूको निरन्तर परीक्षणले हाम्रो शासकीय पद्धति अस्थिर रहेको अनुभूति गर्नसक्छौ । जुनसुकै व्यवस्था भए पनि राजनीतिक अस्थिरताले प्रगति गर्न सकेनौँ/ सकिरहेका छैनौं ।

वास्तवमा आर्थिकविकास र समृद्धि राजनीतिको जगमा नै उभिएको हुन्छ । त्यस्तै अर्थनीति निर्धारण अर्थ राजनीतिकको स्थान भन्दा माथि हुनेगर्दछ । राजनीतिक इच्छाशक्तिविनाको आर्थिक विकास र समृद्धिको प्रयास तथा सुधारले सफलता पाउन गाह्रो हुन्छ । आर्थिकविकास र समृद्धिको लागि स्वतन्त्रता, शान्ति, स्थायित्व र जवाफदेहिता अपरिहार्य हुँदाहुँदै पनि प्रजातन्त्र प्राप्तिपछि हामी स्थिरता, सुशासन, नैतिकता, इमानदारिता र सदाचारिताका विषयमा सधैँ कमजोर भयौँ । हामीकहाँ रहेको अस्थिर राजनीतिले स्थायित्व, आर्थिकविकास र समृद्धिमा नकारात्मक असर सधैँ पारिरह्यो/ पारिरहेको छ । विकास र समृद्धिका लागि पहिलो सर्त स्थिरसरकार थियो । जून लामो अन्तरालपछि नेपाली जनताले विकास र समृद्धिका लागि भनेर वाम गठबन्धन (नेकपा) लाई दुई तिहाइ मत दिई सरकारको नेतृत्व गर्न पठाएका थिए । वाम गठबन्धन (नेकपा) ले संघ, सात वटा प्रदेशमध्ये छ वटा प्रदेश र ७५३ स्थानीय तहमध्ये करिब ४०० स्थानीय सरकार वामपन्थीहरूको पार्टीलाई नेपाली जनताले जिताएका थिए । वाम गठबन्धन सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र छिटोछरितो जनतालाई सेवा प्रवाह गरी मुलुकलाई आर्थिकविकास र समृद्धिको मार्गमा डोर्याउछ भन्ने विश्वास नेपाली जनतामा थियो । यसले स्वाभाविक रूपमा जनमानसमा झिनो आशा जगाएको थियो । तर, वाम गठबन्धन सरकार आन्तरिक किचलोमा रुमलिएर करिब साढे ३ वर्षको अवधिमै टुट्यो । यसले के देखाउँछ भने हामीकहाँ व्यक्तिगत तथा दलीय स्वार्थ त्यागेर मुलुक र जनताप्रति बफादार हुने राजनेताको अभावले राजनीतिक स्थिरता कायम हुनसकेन ।

इतिहासको लामो यात्राका दौरानमा दलहरूले दर्जनौँ राजनीतिक मुद्दाहरूलाई स्थान दिए तर आर्थिक मुद्दालाई कहिल्यै स्थान दिनसकेनन् । तर पनि हाम्रा नेताहरूले राजनीतिक परिवर्तनको अभीष्ट आर्थिकविकास र समृद्धि नै रहेको बताइरहेका थिए, बताइरहे । हाम्रा नेताहरूले जति दर्शनशास्त्र, राजनीतिक शास्त्र, समाजशास्त्रबारे बहस र छलफल गर्छन्, त्यति आर्थिकविकासको बहस गरेको पाइँदैन । शायद मेरो बुझाइमा राजनीति परिवर्तनबाट आर्थिकविकास र समृद्धि खोज्नु नै गलत हो कि ? नेपालका राजनीति दलहरूले कहिल्यै आर्थिक स्वतन्त्रता, उद्यमशीलता र आत्मनिर्भरको बाटो तर्फ ध्यान दिएनन् । तर किन आर्थिकविकासका लागि संसारका सबै देशहरूले बजार व्यवस्था नै रोजे त ? चाहे छिमेकी देश चीनले सन् १९७८ पछि होस्, वा सन् १९८६ पछिको भियतनाम होस् वा सन् १९९० पछि भारत होस् । अहिले पनि यी देशहरूमा प्रतिव्यक्ति आय र शासनको गुणस्तर बीच बलियो सकारात्मक सम्बन्ध रहेको छ । तर, हामीकहाँ यी यावत विषयहरू सार्वजनिक मुद्दाको बहस हुन सकेनन् र यी प्रश्नहरूको उत्तर पनि राजनीतिक दलहरूले खोजिएको पाइँदैन । 

मानवइतिहासमा आर्थिकवृद्धि एकदम दुर्लभ घटना हो । सन् १८०० भन्दा अघि संसार भरिका मानिसहरूले जीवन निर्वाहका लागि मात्र हप्ताको पचास, साठी वा सत्तरी घण्टासम्म काम गर्नुपर्थ्यो । त्यतिखेर जीवन निर्वाह एउटा नियमित संघर्ष जस्तै थियो । सन् १८०० को जीवनस्तर त्यो भन्दा एक हजार वर्ष वा अझ दुई हजार वर्षभन्दा अघिको प्राचीन रोमको समयको जीवनस्तर भन्दा खासै फरक थिएन । मानवइतिहासको निराशाजनक आर्थिकवृद्धि दुई सय वर्ष अघिदेखि फेरिन थालेका हो । दुई सय वर्षमा पश्चिम युरोप र यसका विस्तारित देशहरू जस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया न्युजिल्याण्ड जसलाई पश्चिमा देश भनिन्छ, उनीहरूको सन् १८२० यताको आर्थिक वृद्धि तीव्र गतिमा भएको पाइन्छ । सन् २००३ मा आइपुग्दा, संसारको प्रति व्यक्ति आय ६,५६१ डलर पुगेको थियो अर्थात् सन् १८२० को भन्दा दश गुणा बढी । पश्चिमा देशहरूमा भने सन् २००३ मा प्रति व्यक्ति आय २३,७१० पुगेको थियो अर्थात् सन् १८२० को भन्दा झण्डै बीस गुणाले बढी ।

व्यक्ति आयवृद्धि सगँसगैँ मानिसको औसत आयु पनि बढ्दै गएको तथ्यहरू पाइन्छ । तसर्थ, सदियौँदेखि निर्वाहको स्तरमा आम्दानी गरिरहेको विश्वले गत दुई सय वर्षमा प्रति व्यक्ति आयमा सफलता हासिल गरेको छ । त्यस्तै सन् १९९० देखि २०१३ को समयावधिमा सबैभन्दा उच्च आर्थिक स्वतन्त्रता र कम आर्थिक स्वतन्त्रतालाई लिन सकिन्छ । जस्तै आर्थिक स्वतन्त्रता सूचकाङ्कमा २३ वर्षको अवधिको तथ्याङ्क उपलब्ध भएका ११३ देशहरूमध्ये हङकङ, सिंगापुर, न्युजिल्याण्ड, स्विजरल्याण्ड र संयुक्तराज्य अमेरिका सबै भन्दा स्वतन्त्र अर्थतन्त्रका रूपमा नियमित अग्रस्थानमा रहँदै आएकाछन् भने अर्को तर्फ लोकतान्त्रिक गणतन्त्र कंगो, गिनिया बिसौ, भेनेजुयला, जिम्बाब्वे र गणतन्त्र कंगो सबै भन्दा कम स्वतन्त्र अर्थतन्त्रका रूपमा रहँदै आएका छन् । सबैभन्दा बढी स्वतन्त्र अर्थतन्त्र भएका १० मुलुकहरूको औसत प्रति व्यक्ति आय ५२,४४५ डलर रहेको थियो । तर सबैभन्दा कम स्वतन्त्र अर्थतन्त्र भएका १० मुलुकहरूको प्रति व्यक्ति आय (४,१६४ डलर) भन्दा करिब १३ गुणाले बढी थियो । यसर्थ, संसारका सबैभन्दा छिटो वृद्धि भएका अर्थतन्त्रहरुमध्ये करिब सबैजसो नै विकासोन्मुख देशहरू नै रहेका छन् । दशकौँसम्म वार्षिक ५ प्रतिशत भन्दा बढीको दरमा व्यक्तिगत आय हासिल गरेर हङकङ, सिंगापुर, चिली, दक्षिण कोरिया, इण्डोनेशिया, चीन, भारत र भियतनाम लगायतका देशहरुले आर्थिक रूपमा रूपान्तरित भएका छन् । विशेष गरी पश्चिमी देशहरूमा विगत दुई सय वर्षमा आर्थिक वृद्धिले जीवनस्तर उकासेको पाइन्छ र उनीहरूको जीवनको लम्बाई र गुणस्तर दुबैमा अभिवृद्धि गरेको देखिन्छ । तर, हामीकहाँ भने सन् १९७० देखि २०१४ सम्म औसत आर्थिक वृद्धिदर ४ प्रतिशत र सोही अवधिमा प्रतिव्यक्ति आय २ प्रतिशतले बढेको कुरा विश्व बैङ्कले उल्लेख गरेको छ । अहिले नेपालको प्रतिव्यक्ति आय लगभग (१५०० अमेरिकी डलर) पनि छैन । तर, नेपालीको औसत आयु भने करिब ७० वर्ष पुगेको छ । 

आर्थिकविकास र समृद्धिको लागि सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्ने, करारहरूलाई निष्पक्ष तवरले लागू गर्ने प्रक्रिया नै विधिको शासन हो । सरकारले सामाजिक सुरक्षा कार्यक्रम, खास क्षेत्र वा समूहलाई दिनुपर्ने प्रोत्साहन, अनुदान तथा संरक्षण, जवाफदेहितासम्बन्धी विधि, सबल नियामकको भूमिका निर्वाह र संस्था निर्माण जस्ता कार्यहरू गर्नु आवश्यक छ । आर्थिक प्रगतिको आधार भनेको सही संस्थाहरू र नीतिहरू हासिल गर्नु हो । आर्थिक नीति भन्नाले कानुनी आवश्यकताहरू, नियमहरू, रीतिरिवाज तथा प्रथाहरू हुन् । यसअन्तर्गत संवैधानिक प्रावधानहरू, कानुनी प्रक्रियाहरू, शासन गर्ने नियमहरू र मौद्रिक व्यवस्थाका संरचनाहरू पर्दछन् । नीतिहरू भनेको विशिष्ट राजनीतिक कदमहरू हुन जुन कुरा संस्थाको तुलनाका छिटो परिवर्तन हुन्छ । तसर्थ कुनै पनि देशका संस्था तथा नीतिहरू कत्तिको आर्थिक स्वतन्त्रता मैत्री छन् वा व्यक्तिगत छनोट, निजी स्वामित्व, स्वैच्छिक विनिमय र प्रतिस्पर्धी बजारहरूसँग कत्तिको अनुकूल छ भनेर मापन गर्दछ । कुनै पनि देशले आर्थिक स्वतन्त्रता सूचकाङ्क उच्च स्थान प्राप्त गर्नको लागि सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, करार निष्पक्ष कार्यान्वयन र स्थिर मौद्रिक वातावरण हासिल गर्नुपर्दछ । त्यस देशले करको दर न्यून राख्ने, स्वदेशी तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोध सिर्जना नगर्ने र स्रोत र साधनहरूको विनियोजनका लागि सरकारी खर्च र नियमन भन्दा पनि पूर्णत बजारमा भर पर्नुपर्छ । तर दुःखका साथ भन्नै पर्छ, नेपालका नेतृत्वकर्ताहरूले संस्था र नीतिहरूलाई आर्थिक प्रगतिको आधार हो भन्ने नै बुझेनन्, र यसतर्फ उनीहरूले कहिल्यै ध्यान दिएनन् । जबसम्म यी कुराहरूमा नेतृत्ववर्गले गम्भीरताका साथ लिँदैनन्, तबसम्म नेपालले आर्थिक प्रगति हासिल गर्नसक्दैन । यदि संस्था तथा नीतिहरू सही हुने हो भने नेपालले पनि समान किसिमको आर्थिक प्रगति हासिल गर्नसक्छ ।

हामीकहाँ आर्थिकविकास र समृद्धिको बाधकको रूपमा गुणस्तरहीन पूर्वाधार, राजनीतिक अस्थिरता, नीति कार्यान्वयनमा अनिश्चितता, आसेपासे अर्थतन्त्र, सुशासनमा कमी र व्याप्त भ्रष्टाचार जस्ता कार्य भइरहेका छन् । त्यस्तै उत्पादकत्वमा कमी, वातावरणमा अन्योल, पुँजीको प्रतिफलमा कमी जस्ता थप कारण पनि हुन् । हामीकहाँ रहेको कमजोर शासनप्रणाली नै आर्थिक वृद्धिको मुख्य बाधक हो । तसर्थ, हामीले सुशासनलाई आर्थिक वृद्धिको माध्यमका रूपमा उपयोग गर्न सक्नुपर्छ । आर्थिक वृद्धिमा जानुभन्दा पहिले मुलुकले भोगेका आधारभूत समस्याहरू पहिचान गर्नु जरुरी छ । हाम्रो आर्थिक वृद्धिमा वित्तीय नीतिको प्रभाव खासै उत्साहजनक रहेको पाइँदैन, यसलाई राज्यले महत्त्वका साथ हेरिरहनु पर्छ । श्रम सहभागीतामा वृद्धि, समावेशी र आर्थिक क्रियाकलापमा विस्तार जस्ता कुरा दिगो आर्थिक वृद्धिका लागि चाहिन्छ । आम्दानीको मात्रा वृद्धि गर्नका लागि पुँजी, रोजगारी, प्रविधि, स्वास्थ्य र शिक्षाको स्तर, उधमशीलता र व्यापार तथा आर्थिक सुधारको स्थिरताले महत्त्वपूर्ण भूमिका खेल्छन् । हामीले के कुरा बुझ्नुपर्छ भने पुँजीको विकास नभई आर्थिक वृद्धि नहुने र आर्थिक वृद्धि नभई समृद्धिको वितरण हुनै सक्दैन । आर्थिक विकास र समृद्धिका लागि श्रम र पुँजीको महत्त्वलाई गहिरो अध्ययन गरेर उद्योगको विकास, पुँजीको सुरक्षा, श्रम र कानुन जस्ता यावत विषयलाई विशेष ध्यान दिनुपर्छ । त्यस्तै राजनीतिक प्रतिस्पर्धा, सहभागिता र जवाफदेहीताको बलियो प्रणाली, संयन्त्र र संस्थागत संरचना लाई दिगो र स्वीकार्य बनाउनु जरुरी छ । 

आर्थिक विषयलाई राजनीतिले जति महत्त्व दिन्छ त्यही आधारमा मुलुकको विकास र समृद्धिको गति निर्धारण हुनेगर्छ । मुलुकले अपनाएको शासकीय पद्धतिअनुरूप उपयुक्त आर्थिक नीति तय गर्न सकियो भने मात्र राजनीतिले उचित परिणाम दिन्छ । यसका लागि राजनीतिक स्थिरतासँगै विधिको शासन, राज्यको स्रोत र साधनको जवाफदेहिपूर्ण उपयोग, सुशासनको प्रत्याभूति र जनचाहनाअनुसारको वास्तविक विकास दिने सकारात्मक र रचनात्मक कार्य गर्नु आवश्यक छ । यसर्थ, जबसम्म विधिको शासन कायम हुँदैन, तबसम्म विकास र समृद्धि नारामा मात्र सीमित हुन्छ ।

The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Centre for Social Change.

रामचन्द्र अधिकारी, व्यवस्थापन, समाजशास्त्र र राजनीतिशास्त्रको विद्यार्थी, अनुसन्धानमा रुची राख्ने, स्वतन्त्र रूपमा समसामयिक विषयवस्तुहरूका बारेमा कलम चलाउने व्यक्ति हुन् । पछिल्लो समय उनका लेखहरू विभिन्न पत्रपत्रिका मार्फत प्रकाशित छन् । हालसालै उनको आफ्नै पुस्तक “युवाले देखेको नेपाल” पुस्तक पनि प्रकाशन भएको छ । साथै उनले विगत ४/५ वर्ष देखि भ्रष्टाचार विरुद्ध अभियानमा रहेर समाजरूपान्तरणका लागि विभिन्न खालका जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

©2021 Centre for Social Change, Kathmandu