Photo by Rahul Roy for CSC
लेखक: कर्णबहादुर नेपाली
१. पृष्ठभूमिः
रोबर्ट च्याम्बर्स (च्याम्बर्स १९९२)का अनुसार तल्लो तहमा रहेका जनतालाई अगाडि ल्याई उनीहरूको चौतर्फी र दिगोविकास गराउने सशक्त माध्यम जनसहभागीता हो । वास्तवमा अर्थपूर्ण जनसहभागीता विना दिगोविकासको परिकल्पना समेत गर्नसकिंदैन । विकासलाई सामान्यतया प्रष्ट्याउँदा नागरिक वा जनताको जीवनमा आउने सकारात्मक परिवर्तन वा रूपान्तरण भन्न सकिन्छ । कुनै पनि विकासले विगत भन्दा आज र भोलिको नागरिकहरूको जीवनस्तर, हैसियत वा अवस्थामा परिवर्तन ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुनुपर्छ । विकासलाई कुनै एक व्यक्ति वा निश्चित पात्रले मात्र गरेर हुँदैन यस प्रक्रियामा नागरिकहरूको अपनत्व, सहभागीता, लगानी र प्रतिफलको उचित बाँडफाँडमा समेत समान हिस्सेदारी कायम भएको हुनुपर्छ । २१ औं शताब्दी विज्ञान, सूचना, संचार र प्रविधिको युग भएको छ भन्दा अत्युक्रि मान्नु पर्दैन । प्रत्येक क्षणमा भएका प्रविधिको विकासले संसारलाई एक global village को रूपमा परिणत गरिदिएको छ । कुनै एक क्षेत्र वा स्थानमा भएको घटना क्षणभरमा विश्व भर फैलिनसक्छ । यस भूमण्डलीकृत विश्वमा सबै विषयको नियन्त्रण वा व्यवस्थापन प्रविधिसँग जोडिएको छ र हाल आएर Artificial Intelligence (AI) नै मानवको चुनौतिको रूपमा देखापर्दै गएको छ र यसका विषयमा गम्भीर बहसहरू भइरहेका छन् । त्यसकारण अबको विकास प्रक्रियालाई सूचना र प्रविधिसँग कसरी एकाकार गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु जरुरी भइसकेको छ । यस आलेखमा सहभागीतामूलक विकासमा सूचना प्रविधिको आवश्यकता वा औचित्यलाई प्रष्ट्याउने प्रयास गरिएको छ ।
२.सहभागीतामूलक विकास
समावेशी लोकतान्त्रिक व्यवस्थामा जनसहभागीता भन्ने पक्षसँगै जोडिएर आउँछ वा अलग गर्नै सकिदैन । यस समावेशी लोकतान्त्रिक व्यवस्थालाई जनसहभागीतामूलक व्यवस्था पनि भन्न सकिन्छ किनभने यसमा नागरिकहरूका विकासका आकांक्षाहरू सहज रूपमा सम्बोधन हुने तथा प्रतिफलहरूको न्यायोचित बाँडफाँड तथा वितरण हुने विश्वास गरिन्छ । सन् १९७० पश्चात् विकासमा जनसहभागीताको विषय सशक्त रूपमा उठेको देखिन्छ । त्यसैले निर्णयप्रक्रियामा सहभागी भई सेवा प्रवाहलाई प्रभावकारी बनाउन, राज्यप्रति उत्तरदायित्व निर्वाह गर्न, विकासका आकांक्षाहरू सम्बोधन गर्न, सीमान्तकृत एवं पछाडि पारिएका वर्ग समुदायको विकासको प्रतिफल परिणाममुखी बनाउन पनि सहभागीताको आवश्यकता पर्छ । यसकारण पनि पछिल्लो समयमा समावेशीकरण भन्ने विषय टड्कारो तथा अभिन्न रूपमा आएको छ । विकास प्रक्रियामा मात्र नभई यथार्तमा राज्यसंचालन प्रक्रियामा होस् वा अधिकारका विषयमा होस् राज्य भित्र रहेका सम्पूर्ण वर्ग, धर्म, वर्ण, लिंग, क्षेत्र, जात, जाति पछाडि पारिएका समुदाय वा क्षेत्रको अर्थपूर्ण संलग्नता समेतलाई सहभागीताको विषयका रूपमा लिइनुपर्छ ।
विकासका सन्दर्भका हिसाबले कुरा वा नारामा जनसहभागीताका कुरा गर्ने वा नीति तथा कानुन पनि सहभागीतालाई अर्थपूर्ण बनाउने विषयमा निर्माण गर्ने तर व्यवहारमा फेरि पनि प्रक्रियामा होस् वा लाभको वितरण गर्ने सवालमा होस् , हुनेखानेहरूकै वा elite हरूकै मात्र सहभागीता भएको देखिन्छ । नेपालको संविधानले स्पष्ट रूपमा विकास प्रक्रियामा नागरिकहरूलाई कसरी सहभागी गराउने वा कुन कुन संयन्त्रमा कसरी सहभागी बनाउने भन्ने विषय समेत उल्लेख गरेको छ । जबसम्म निर्णय र कार्यान्वयन प्रक्रियामा नागरिकहरूको उचित तथा समतामूलक तवरमा सहभागीताको सुनिश्चितता हुँदैन तबसम्म विकासप्रक्रिया अपुरो हुन्छ र कहिल्यै पनि दिगो हुन सक्दैन किनकि नागरिकहरूमा विकासप्रति अपनत्व भन्ने पक्ष नै हुँदैन ।
३. सूचना प्रविधि
विश्वलाई यतिवेला सूचना र प्रविधिले एउटा संजालभित्र ल्याई पु¥याएको छ र सूचना र प्रविधिको अधिक विकासले मानवको दैनिक व्यवहारलाई समेत परिवर्तन गरेको यथार्त हाम्रो सामु छ । सूचना प्रविधिले विद्यमान अवस्थामा हाम्रा प्रत्येक गतिविधिहरूका साथै जीवनशैली नै बदलिदिएको छ । यस परिवर्तित अवस्थमा सूचना र प्रविधिको उचित प्रयोगमा विपन्न, जोखिममा परेका तथा पछाडि पारिएका वर्ग, समुदायको पहुँच र प्रयोगको जरुरी छ । नेपालको मात्र अवस्थालाई हेर्ने हो भने औसतमा प्रत्येकको हातमा मोवाइल पुगेको तथ्यांकले बताउँछ, अहिले हेर्दा इन्टरनेटको पहुँच समेत विस्तारै फराकिलो बन्दै गएको छ । यसले के देखाउँछ भने व्यक्तिको निर्णय प्रक्रिया वा जानकारी सहितको निर्णय गर्न कार्य वा क्षमतामा पनि वास्तवमा सूचना प्रविधिको ठूलो हात छ । आजकल युवा, युवती तथा किशोर, किशोरीहरूको त झन् सूचना तथा प्रविधिमा ठूलो चासो रहेको देखिन्छ । उनीहरूलाई प्रविधिमैत्री पनि बनाउने र यसलाई जीवनोपयोगी बनाउनु उत्तिकै आवश्यकता समेत देखिएको छ । यसले व्यक्तिलाई सकारात्मक रूपमा उन्नति तथा प्रगति हुने खालको विषयमा पनि सहयोग गर्छ साथै यसको दुरूपयोगले व्यक्तिलाई नकारात्मक बाटोमा समेत धकेल्छ, सूचना तथा प्रविधिको गलत प्रयोगले आज मानिसहरूले साइबर क्राइम अन्तर्गत विभिन्न खालका अनाहकमा दुःखहरू समेत वेहोर्नु परिरहेको छ । सूचना प्रविधिको सकारात्मक प्रयोगले व्यक्तिले अनेक सफलताहरू समेत हात पारेका असल उदाहरणहरू समेत हामीले दिनदिनै देखिरहेका छौं, सुनिरहेका छौं । त्यसकारण कसरी यसको सहज पहुँच, प्रयोग, नियन्त्रण एवं व्यक्तिको कल्याण, फाइदा र प्रगतिमा कसरी लगाउने भन्ने प्रमुख विषय हो । जुन घरमा इन्टरनेटको सुविधा छ, त्यहाँ व्यक्तिहरू एक–अर्कामा कुरा गर्दैनन्, कुरा त हुन्छ तर कुनै त्यो घरभन्दा बाहिर रहेको व्यक्तिसँग मात्र । यसरी हेर्दा सूचनाप्रविधिले हाम्रो जीवनशैली फेरिदिएको छ र हामीलाई हाल आएर जबर्जस्त रूपमा प्रविधिसँग एकाकार हुन वाध्य बनाइरहेको छ । प्रविधिले हाम्रो जीवनपद्धतिलाई सहज समेत बनाएको छ, हामीले क्षणभर मै धेरै कामहरू सजिलैसँग गर्न सक्छौं यसले हाम्रो संचार प्रणालीमा आकाश पातालको फरकपन ल्याएको छ र दिनानुदिन यसको प्रयोगमा बढोत्तरी साथै नयाँ नयाँ अविष्कारहरू समेत भइरहेका छन् ।
४. सहभागीमूलक विकास र सूचना प्रविधिको अन्तरसम्बन्ध
जनसहभागीतामूलक विकासले सकारात्मक परिवर्तन वा रूपान्तरणको मार्गलाई सहज बनाउँछ वा यसले समावेशीकरणलाई सुनिश्चित गर्छ भन्दै गर्दा, विकास प्रक्रियामा नागरिकहरूलाई सहभागी बनाउने विधि वा पद्धतिमा फरकपन आएको देखिन्छ । पुरानो विकास पद्धति जनसहभागीतामूलक भएन भनी सबैले स्वीकारेको विषय थियो र नीतिगत रूपमै नागरिकहरूको सहभागीतालाई विकासका हरेक कार्यमा सुनिश्चित गर्ने भन्ने कानुनी प्रावधानहरू समेत छन् । विकासमा नागरिकहरूको अर्थपूर्ण सहभागीतालाई सुनिश्चित गर्ने योजनानिर्माण प्रक्रिया पनि सहभागीतामूलक विधि मार्फत हुनुपर्छ भनी प्रयोग समेत भइराखेको छ । तर विद्यमान अवस्थामा सहभागीतामूलक विकासलाई मूर्तरूप दिनका लागि सूचना तथा प्रविधिको पहुँचलाई नागरिकसम्म विस्तार गर्नै पर्ने भएको छ । विकास प्रक्रियामा नागरिकहरूको सहभागीता नहुनुका थुप्रै कारणहरू रहेका छन्, समयमा जानकारी नपाउनु, सधै अरूले नै पाउँछन् हामी गएर के हुन्छ भन्ने सोच वा मानसिकता, योजनानिर्माण तथा कार्यान्वयन प्रक्रियामा हुनेखाने कै पहुँच तथा नियन्त्रण, नीतिगत प्रक्रिया तथा प्रावधानको प्रभावकारी कार्यान्वयन नगर्नु, तथ्यमा आधारित पैरवी नहुनु, जस्ता विषयले गर्दा समेत सहभागीतामा असर गरेको देखिन्छ ।
सुशासनको दृष्टिकोणले समेत सरकारले सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिलाई अँगालेको छ भने सरकार, सेवाप्रदायक तथा सरोकारवालाहरूका आफ्नै वेबसाइटहरू, नागरिक वडापत्रहरू, मोवाइल एप्सहरू, सामाजिक संजालका विभिन्न माध्यमहरू रहेका छन् । उनीहरूले विकास तथा अन्य विषयसँग सम्बन्धित सूचना तथा जानकारीहरू तिनै संचारका माध्यमबाट प्रवाह गरेका हुन्छन् अनि त्यस्ता माध्यममा जसको पहुँच हुन्छ उसको मात्र सहभागीता हुन्छ । भनिन्छ नि सूचना शक्ति हो । त्यसकारणले गर्दा पनि एकातिर प्रत्येक जसो नेपालीहरूको हातमा मोवाइल छ भन्ने तथ्यांक छ, तर त्यसको सही प्रयोगले सबै प्रकारका सेवाप्रदायकहरूले के कस्ता कार्यक्रम वा गतिविधिहरू गरिरहेका छन् भन्ने कुरा मोबाईल जस्ता प्रविधिका माध्यमबाट नागरिकहरूलाई सहज रूपमा प्रदान गर्ने माध्यम बनाइयो र वास्तवमा विकासका गतिविधिले हाम्रो जीवनमा सकारात्मक परिवर्तन गर्छन् साथै योजना हाम्रै लागि हो एवं हाम्रो करबाट उठेको रकम नै विकासका लागि आउने बजेट हो भन्ने आत्मसात गराउन सकेमा नागरिकहरूको सहभागीतामा पक्कै वृद्धि हुन्छ । साथै त्यस्ता माध्यममा नागरिकलाई चित्त नबुझेको विषयमा जिज्ञासा राख्ने, प्रश्न गर्ने तथा त्यसको जवाफ पनि आउँछ भन्ने कुरा निश्चित गर्न सकियो भने झन् नागरिकहरूको सहभागीतामा वृद्धि हुन्छ ।
सर्वप्रथम त नागरिकहरूले यो विकास कसका लागि र कसरी हुँदैछ भन्ने विषय स्पष्ट रूपमा बुझ्नु जरुरी छ । विकास हुनुपर्छ, यस प्रक्रियामा हाम्रो पनि सहभागीता हुनुपर्छ भन्ने जनचेतना एकहदसम्म नागरिक स्तरमा भएको भान पनि हुन्छ र अर्को तर्फ हामी समावेशी लोकतन्त्रको अभ्यास भइरहेको देशका नागरिक हुनुको नाताले पनि विकासका प्रक्रियामा नागरिकहरूको चासो, चिन्ता र आकांक्षा सम्बोधन हुन पनि जरुरी छ भन्ने विषय बुझ्न आवश्यक हो तर नागरिकहरूले हाल भइरहेको विकास प्रक्रियाले वास्तवमा उनीहरूलाई नै फाइदा पु¥याउँछ भन्ने महसूस गरेका छैनन् । यस्तो अवस्थामा घरघरमा पुग्ने सूचना प्रविधिलाई विकासको प्रक्रिया वा सहभागीतालाई वृद्धि हुने पक्षमा जोड गर्नु नै अहिलेको टड्कारो आवश्यकता हो ।
सहभागीतामूलक विकासलाई सूचना प्रविधिसँग जोड्का लागि अब सरकारले प्रयोग गर्ने विभिन्न संचारमाध्यमहरूको बारेमा सबैलाई जानकारी गराउने र प्रतिबद्धता बमोजिम सूचनाहरू पनि नियमित रूपमा अद्यावधिक गर्ने । नागरिकहरूलाई वस्ती वस्तीमा पुगेर प्रयोग भइरहेका संचारमाध्यमको प्रयोग गर्ने तरिका, यसका फाइदा तथा बेफाइदाका बारेमा समेत व्यवहारिक अभिमुखीकरण गराउने । उक्त माध्यमबाट आएका जिज्ञासा र प्रश्नहरूको जवाफ यथाशीघ्र प्रदान गर्ने जस्ता विषयले नागरिकहरूको विश्वास र अपनत्व पैदा गर्छ । अनि यस्ता पक्षले नागरिकहरूलाई भरोसा सृजना भएपछि स्वतःस्फूर्त उनीहरूको सहभागीतामा समेत वृद्धि हुन्छ, जब सेवाप्रदायकले दिएको सेवाले नागरिकहरूको मन छुन्छ, त्यसपछि उनीहरूको सहभागीता नीति, योजना निर्माण प्रक्रियादेखि यसको अनुगमन र मूल्यांकनसम्म रहन्छ । त्यसकारण सहभागीतमूलक विकास र सूचनाप्रविधिको मजबुत सम्बन्धले मात्र दिगो विकास तथा अर्थपूर्ण सहभागीतामा टेवा पु¥याउनसक्छ ।
५. निष्कर्षः
हालको सूचना प्रविधिको विकासलाई हेर्ने हो भने, अब यसको द्रुततर विकास सँगसँगै सहभागीतालाई समेत एकाकार गर्नु आवश्यकता देखिन्छ र पुनसंरचित राज्यको संयन्त्र अन्तर्गत संघीय, प्रान्तीय तथा प्रत्येक स्थानीय तहहरूले आफ्नो ईकाईलाई सकेसम्म डिजिटल बनाउने र यसको माध्यमबाट सूचना प्रवाह गर्ने भन्ने छ र गरी पनि रहेका छन् । कुनै कुनै स्थानीय तहले मोबाइल एप्स समेत निर्माण गरेका छन् । प्रतिबद्धताका हिसावले, प्रविधिमैत्री बनाउने सबै तहका सरकार कटिबद्ध छन् । सबै सरोकारवालाहरूले आफ्ना नीति कार्यक्रममा तथा गतिविधिहरूमा कसरी नागरिकहरूको सहभागीता सुनिश्चित गर्ने भन्ने विषय प्रविधिका विभिन्न माध्यमबाट मात्र सफल हुनसकिन्छ । अब विभिन्न सेवाप्रदायक, सबै तहको विशेष गरी स्थानीय तहले निर्माण गर्ने विभिन्न लामो तथा छोटो अवधिका योजनाहरू एवं पाश्र्वचित्रहरू समेत प्रविधिमैत्री बनाउने भन्ने छ, यस्तो प्रक्रियामा नागरिकहरूको अर्थपूर्ण सहभागीता भएको छैन न त जनतालाई भौतिक रूपमै भएपनि बस्ती बस्ती पुगेर घरदैलो पुगेर थाहा दिने काम भएको छ न त प्रविधिलाई जनमैत्री, जनस्तरसम्म पुग्ने गरी निर्माण गरिएको छ । तर प्रविधिमैत्री सेवाप्रदायक मात्र भएर पुग्दैन सेवाग्राही पनि उत्तिकै अभ्यस्त हुनुपर्छ, यसको लागि पहिलो शर्त भनेकै नागरिकहरूलाई यसमा पहुँच र फाइदाको बारमो जानकारी हुन जरुरी छ । यसका लागि सेवाप्रदायकले सरकारको नीतिगत रूपमै व्यवस्था भएको प्रावधान अनुरूप कार्य गर्न सकेमा मात्र पनि सुनमा सुगन्ध हुन्छ । सहभागीतामूलक विकासका लागि हाल तीब्रगतिमा बढेको सूचना र प्रविधिलाई अर्थपूर्ण तरिकाले अँगाल्न सकियो र यसको सकारात्मक प्रभाव नागरिक स्तरसम्म पु¥याउनुका साथै नागरिकहरूको इच्छा र आकांक्षाको सम्बोधन हुने गरी योजना निर्माण, कार्यान्वयनका साथै महसूस हुने गरी विकासका प्रतिफल वा नतिजाको बाँडफाँड न्यायोचित हुनसक्यो भने जनताको सहभागीता अनपेक्षित तवरमा वृद्धि हुन्छ र अपनत्व सहितको दिगो विकास हुन्छ । आउनुहोस्, म, तपाई र हामी सबै मिली एकजुट तथा एकढिक्का बनौं, सूचना प्रविधिको उचित सदुपयोग मार्फत जनताहरूको सहभागीतामा अर्थपूर्ण बृद्धि गरी लोकतन्त्रका लाभहरूको समुचित प्रयोग गर्न नागरिक निगरानी बढाऔं ।
जय देश ! जय देश !!
The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Centre for Social Change.
कर्णबहादुर नेपाली, देशीय कार्यक्रम व्यवस्थापक, रैले ईन्टरनेशनल सुशासन, क्षमता विकास, नीति पैरवी, लैगिंक समानता सामाजिक समावेशीकरण, दिगो विकास र आयोजना व्यवस्थापन विज्ञका साथै मानवअधिकार, सामाजिक न्याय र नागरिक समाज अभियन्ताको रूपमा करिब १७ वर्ष देखि सक्रिय रूपमा कार्यरत व्यक्ति हुनुहुन्छ ।
©2021 Centre for Social Change, Kathmandu