शिवहरि ज्ञवाली
मुलुक संघीयतामा गइसकेपछि दलित समुदायले पनि विभेदबाट मुक्तिको अपेक्षा गरेका थिए । यद्यपि, व्यवहारतः त्यसो हुनसकेन । संविधान कार्यान्वयनको करिब ६ वर्ष पुगिसक्दा पनि दलित समुदायमाथि हुने जातीय भेदभाव र छुवाछूतका घटनाहरूमा खासै तात्त्विक भिन्नता आउन सकेको छैन । यो ब्लगमा संघीयताको सन्दर्भमा दलित समुदायको अधिकारको अवस्थालाई हेर्ने प्रयास गरिएको छ ।
पछिल्लो समयमा दलित समुदायमाथि हिंसाका घटनाहरू बढ्दो क्रममा रहेको अध्ययनहरूले देखाउँछन् । वि.सं. २०६८ सालमा छुवाछूतविरुद्धको ऐन कार्यान्वयनमा आइसकेपछि हालसम्म करिब ४७ जना दलित समुदायका व्यक्तिहरू मारिएका छन् । सेन्टर फर सस्टेनेवल ह्यूमन राइट्सका अनुसार गएको एक वर्षमा मात्रै नेपालमा जातीय विभेदका कारण मारिने दलितहरूको संख्या २५ भन्दा बढी छ ।
जातीय विभेद जरिया रहेका ती घटनाहरूबाट ज्यान गुमाउनेहरूमध्ये ४ जना जातीय भेदभाव तथा छुवाछूतका कारण आत्महत्या गर्न बाध्य बनाइएका थिए । त्यस्तै १० दलित बालिकाहरूको बलात्कारपछि हत्या भएको थियो भने ११ जनाको हत्या अन्तरजातीय विवाह वा प्रेम सम्बन्धसँग सम्बन्धित थिए । ३ घटनाहरू राज्य पक्षको लापरवाही र बाँकी १९ घटना जातीय विभेदजन्य जरिया रहेको हत्यासँग सम्बन्धित थिए । यद्यपि, २०६८ सालमा छोराको अन्तरजातीय प्रेम सम्बन्धका कारण हत्या गरिएका सेते दमाईको परिवारले बाहेक यी अधिकांश घटनाका पीडितहरूले हालसम्म न्याय पाउन सकेका छैनन् ।
इन्सेकको पछिल्लो मानवअधिकार वर्ष पुस्तकअनुसार गएको एक वर्षमा सामाजिक, आर्थिक र मानव अधिकारको हननका घटनामा जातजातिका आधारमा जम्मा पीडित ५५४३ जनामध्ये सबैभन्दा धेरै दलित समुदायका ११६८ जना छन् जुन करिब २१ प्रतिशत हो ।
त्यसैगरी सन् २०१७ देखि २०१९ सम्म महिला तथा बालिका माथि भएका बलात्कारका घटनासम्बन्धी गरिएको एक अध्ययन अनुसार यसअवधिमा भएका कूल ३ हजार ५ सय बलात्कारका घटनामा पीडितमध्ये सबैभन्दा बढी ३४ प्रतिशत आदिवासी जनजाति र २१ प्रतिशत दलित महिला तथा बालिकाहरू थिए । त्यसैगरी क्षेत्री १८ प्रतिशत, ब्राह्मण ७ प्रतिशत, मधेशी ७ प्रतिशत, मुस्लिम ४ प्रतिशत र अन्य ९ प्रतिशत थिए ।
नेपाल प्रहरीको तथ्यांक अनुसार ०७७ चैत्रदेखिको लकडाउन अवधिमा दलित महिलामाथि प्रदेश २ मा १ सय ९६ घटना भएका थिए । जसमध्ये ३७ घटनामात्र मात्र कानुनी कारवाही प्रक्रियामा लगिएको थियो । यस्ता घटनाहरूले दलित समुदायमाथिका जातीय तथा लैङगिक विभेद र हिंसाका घटनाहरू संघीय संरचनामा समेत कम आउन नसकेको र सरकारका न्यायिक संयन्त्रहरूको कार्य प्रभावकारिता सन्तोषजनक नरहेको देखिन्छ ।
नेपालको संविधान २०७२ को धारा २४ ले निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव नगरिने र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको हक समेत हुने व्यवस्था गरेको छ ।
२०६८ सालमै कार्यान्वयनमा आएको जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐनले जातीय विभेदको मुद्दालाई फौजदारी अपराधका रूपमा स्वीकार गरेको थियो । पछिल्लो पटक सरकारले विद्यमान ऐनलाई संविधान अनुकूल बनाउन २०७५ फागुन १९ गते यो ऐनमा संशोधन गर्यो । यद्यपि, ऐनको संशोधित व्यवस्था अनुसार ऐनको नाम समेत परिवर्तन गरी “जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८” बनाइएको छ ।
सकारात्मक कुरा यो ऐनमा विद्यमान सजाय र जरिवानाको दर बढेको छ । तर, यहाँ मुख्य चासो भनेको संशोधित ऐन संविधानको धारा २४ अनुरूप छैन । यस ऐनले नीजि क्षेत्रमा हुने विभेद र छुवाछूतलाई समेट्न सकेको छैन । त्यतिमात्र होइन २०७४ को मुलुकी देवानी (संहिता)को धारा (२१)मा निजी स्थानमा सम्बन्धित् व्यक्तिको मञ्जुरीबिना प्रवेश गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने उल्लेख छ । त्यस्तै अपराध संहिताको धारा (२८४)ले विभिन्न बहानामा सरकारी कार्यालयमा अनुमति बिना प्रवेशलाई रोक लगाउन खोजेको छ । यी कानुनी व्यवस्था पूर्णतः संविधानको धारा २४को व्यवस्थासँग बाझिन्छन् ।
देवानी संहिताको धारा (३७)अनुसार कुनै व्यक्तिले आफ्नो दाहसंस्कार, काजकिरिया वा सद्गतका विधि निर्धारण नगरेकोमा हकवालाले प्रचलितपरम्परा तथा संस्कार बमोजिम गर्नुपर्ने छ । त्यसैगरी विवाह सम्बन्धी व्यवस्थाको धारा (७०)मा विवाहयोग्य उमेर बीस वर्ष तोक्दै आफ्नो जातीय समुदाय वा कुलमा चलिआएको चलनअनुसार विवाह गर्न–गराउन कुनै बाधा नपर्ने उल्लेख छ । धारा ७२ मा जातीय समुदाय वा कुलमा चलिआएको चलनअनुसार भएको विवाह बदर हुननसक्ने व्यवस्था छ । संहिताका यस्ता प्रावधानले वंशशुद्धिको नाममा अन्तरजातीय विवाहको निषेध गरेका छन् ।
पछिल्लो समय उमेरै नपुगी जातीयपरम्परा अनुसार विवाह गर्नेलाई कानुनी सजाय नहुने, तर जब अन्तरजातीय विवाहमा उमेर नपुगेको भन्दै करणीको आरोपमा दलित युवालाई अपराधीकरण गर्ने क्रम जारी छ । यो क्रम देवानी संहिताकै प्रावधानका आधारमा आगामी दिनमा अझ बढ्ने निश्चित छ । त्यति मात्र होइन, अन्तरजातीय विवाह गर्ने जोडीलाई उपयुक्त जीवनसाथी छान्न पाउने अधिकारलाई समेत वञ्चित गरेको छ ।
मौलिक हकको धारा ४० र ४२ मा व्यवस्था गरिएको समानुपातिक समावेशी सिद्धान्तको प्रयोग न्यायालयमा पनि गर्नुपर्छ । स्मरणरहोस्, न्याय परिषद ऐन, २०७३ र न्याय सेवा ऐन, २०७३ले सबै तहको न्यायाधीश पदमा समानुपातिक सिद्धान्त बमोजिम गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यद्यपि, सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्ति, उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्ति गर्दा समावेशीकरण सिद्धान्तलाई अंगिकार गरिने छैन । यो पूर्णत छलछाम र झेल् झाल युक्त छ ।
संवैधानिक व्यवस्थाअनुसार सङ्घीय र प्रदेश मन्त्रिपरिषदको गठन समावेशी सिद्धान्तको आधारमा हुने छ भने स्थानीय सरकारका गाउँपालिका र नगरपालिकामा दलित तथा अल्पसंख्यक समुदायबाट क्रमशः २ र ३ जना कार्यपालिकाको सदस्य रहनेछन् ।
संघीय प्रतिनिधि सभा र प्रदेशसभामा कूल सिटको ४० प्रतिशत प्रतिनिधित्व समानुपातिक प्रतिनिधित्वको आधारमा हुने व्यवस्था गरिएको छ । राष्ट्रियसभाको गठनमा प्रत्येक प्रदेशबाट एक जना गरी सात जना दलितको अनिवार्य सहभागिता हुने व्यवस्था छ । त्यस्तै गाउँ र नगरसभामा दलित वा अल्पसंख्यकबाट क्रमशः दुई र तीन जना सदस्य निर्वाचित हुनेछन् । नेपाली सेनामा, राजनीतिक दलका विभिन्न तहका कार्यकारी समिति, राजदूत र विशेष प्रतिनिधि नियुक्ति, संवैधानिक निकायका पदाधिकारी र सरकारी सेवाको पदपूर्तिमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा समावेशीकरण गराइने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाका बाबजुद कार्यान्वयनको अवस्था भने टिठ लाग्दो छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को बाध्यकारी व्यवस्थाका कारण स्थानीय तहमा ६५६७ दलित महिलाको सहभागिता सुनिश्चित भयो । यद्यपि, अन्य संरचनाहरूमा संवैधानिक व्यवस्थालाई समेत लत्याइएको अवस्था छ ।
पछिल्लो प्रतिनिधि सभाको विघटन अघिसम्म केन्द्र र प्रदेश सरकारमा जम्मा ३ जना दलितले क्याबिनेट मन्त्री र एक जनाले राज्यमन्त्रीको रूपमा प्रतिनिधित्व गर्नपाए । प्रदेश सरकार निर्माणको शुरुवातमा एकजना पनि दलित समुदायका व्यक्ति मन्त्री बनेनन् । संघीय प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ दलित सांसद जम्मा ३ जना पुरुष छन् । समानुपातिक तर्फ प्रतिनिधि सभामा १६ जना दलित सांसद मध्ये महिलाको संख्या १४ जना थियो । सातवटै प्रदेशमा दलित प्रदेश सभा सदस्य ५ जना मधेशी महिलासहित २९ जना छन् भने ४ जना दलित पुरुषले प्रत्यक्षबाट जितेका छन् । राष्ट्रिय सभा तर्फका ७ जना दलित सांसद सबै पुरुष छन् । प्रतिनिधित्वको यस्तो अवस्थाले समानुपातिक प्रतिनिधित्वको अवधारणालाई नै उपहास गर्ने काम गरेको छ ।
संघीयता कार्यान्वयनको यो अवधिमा दलित समुदायले खास राहत र न्यायको अनुभूति गर्न पाएका छैनन् । यसको मुख्य कारण संघदेखि स्थानीय तहसम्मका राज्य संरचनाहरूमा दलित समुदायको प्रभावकारी सहभागिताको सुनिश्चितता हुन नसक्नु हो ।
संविधानको धारा १९७ ले प्रदेश सरकारहरूलाई दलित लगायतका समुदायको सशक्तिकरण र न्यायमा पहुँचका लागि कानुन बनाउन सक्ने अधिकार दिएको छ । यद्यपि, हालसम्म प्रदेश–२ मा मात्र ‘दलित सशक्तीकरण ऐन, २०७५’ कार्यान्वयनमा छ । यो ऐन आएसँगै अन्य प्रदेशहरूलाई पनि ऐन बनाउन घचघच्याएको छ । यद्यपि, हालसम्म अन्य प्रदेशहरूले यस्तो किसिमको ऐन कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।
दिगो विकास लक्ष्य १६ ले दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने तथा सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने लक्ष्य लिएको छ । त्यसका लागि सबै तहमा प्रभावकारी जवाफदेही र पारदर्शी संस्थाहरू स्थापना गर्ने र सबै तहमा उत्तरदायी, समावेशी, सहभागितामूलक र प्रतिनिधि निर्णय क्षमता सुनिश्चित आवश्यक हुन्छ । त्यसैले संघीयतामा दलित समुदायको न्याय र अधिकारलाई सुनिश्चित गर्नका लागि प्रभावकारी नागरिक हस्तक्षेपको आवश्यकता छ ।
The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Centre for Social Change.
शिवहरि ज्ञवाली सामाजिक न्याय र मानव अधिकारका लागि अभियानकर्ता हुन् । उनले विशेष गरी दलित र सीमान्तकृत समुदायको अधिकारमा चासो राख्दछन । उनले दलित मुद्दाहरूको बारेमा दर्जनौं अनुसन्धानात्मक लेखहरू प्रकाशित गरेका छन् । उनले नियमित रूपमा राष्ट्रिय अखबारमा लेख्दछन् ।
©2021 Centre for Social Change, Kathmandu