मौलिकता जोगाउन नसक्ने सरकारी इन्जिनियरिङ

फोटाहरू: विराट अनुपम (लेखक)

लेखक: विराट अनुपम

सोलुखुम्बु जिल्ला हिमालहरूको केन्द्र हो । नेपाली साहसिक पर्यटनको केन्द्र पनि हो । यति मात्रै होइन सोलुखुम्बु विभिन्न कलाको केन्द्र हो । शेर्पा तथा किराँती राई समुदायको रैथाने क्षेत्र सोलखुम्बुमा नेवारी सभ्यताको प्रवेश धेरैअगाडि भएको हो । नेपाली कलाका घरहरू सोलुखुम्बुमा मज्जाले देख्न सकिन्छ । शताब्दी पुराना कलात्मक नेवारी घरहरू सोलुखुम्बु बजार क्षेत्रका सांस्कृतिक तथा कलाका बिम्बहरू हुन् । तिनै बिम्बहरू बोकेर सोलुखुम्बुमा बसोबास गर्ने दम्पति हुन् छविनारायण राजभण्डारी र इन्दिरा भण्डारी । सय वर्ष पुरानो मौलिक घर थियो उनीहरूको । पुर्खौली घर बनाउन कमेरोले पोलिएको छ । चाँपको काठ प्रयोग गरिएको छ । स्थानीय तहमै उपलब्ध हुने ढुंगा, माटो प्रयोग भएको छ । तीनतले घरमा तीन ठूला बस्ने कोठा छन् । अहिले पनि सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारसँग सँधियारी भएर बनेको दोर्पु बजारको यो घर उभिइरहेको छ । ९० सालको भूकम्प थामेको यो मौलिक घरले २०४५ सालको भूकम्प पनि थामेको थियो । २०७२ वैशाख १२ गते गोर्खा केन्द्रबिन्दु भएर आएको भूकम्पमा दोर्पु आसपासका घरहरू बिजोग भएर भत्किए, ढले । तर यो घर लडेन । बाहिरबाट हेर्दा घरमा केही भएको जस्तो पनि देखिएको छैन । तर, भित्री संरचनाहरूमा केही धर्का परेका छन् । चिरा परेका छन् । त्यसैले अहिले यो घर बस्न सक्ने अवस्थामा छैन । बस्न नमिल्ने घरअगाडि गफिएका छविनारायण राजभण्डारी भन्दै थिए, ‘आफ्नो इतिहास भएको घर हो । भत्काउन सकिन्न । बस्न पनि सकिन्न’ ।

भूकम्प आएको दिन शनिबार थियो । त्यस दिन छविनारायण भण्डारी घरमै टिभी हेरेर बसेका थिए । सोलुखुम्बुको सल्लेरी च्याल्सा विद्युत् कम्पनीका सुपरभाइजर छविनारायणले आफ्नो वंशज इतिहास भएको घरमा अन्तिम दिन त्यही भयो । भूकम्पले दोर्पुमा कुनै मानवीय क्षति त गरेन । तर, दोर्पु गाउँमा भएका ऐतिहासिक घरहरूमा भने भूकम्पले धेरै क्षति पु¥यायो । आफ्नो बिरासत, संस्कार र संस्कृति अनि इतिहास बोकेका घरहरू ढले । घरहरूसँगै एउटा वास्तुकलाको इतिहास ढल्यो । त्यसको दुःखित साक्षी बने छविनारायणहरू । अहिले पुनर्निर्माणको नाममा छविनारायणको प्रिफ्याबको घर बनेको छ । आफ्नो पुर्खौली घरपछाडि बनेको प्रिफ्याबको घर रङ्गीङ्गी छ । तर, त्यसमा कुनै आकर्षण छैन छविनारायणलाई । उनलाई त पुरानै घर मन परेको छ । पुरानै डिजाइन मन परेको छ । छविनारायणलाई जस्तै पुरानो घर र पुरानो कला मन पराउनेहरू धेरै छन् । तर, उनीहरूले पुरानो तरिकाले घर बनाउन पाएनन् ।

“तर, पुनर्निर्माण प्राधिकरण खासगरी नेपाल सरकारको इन्जिनियरिङ विधाले गाउँको कलालाई चिनेन । गाउँको वास्तुलाई चिनेन । यसले घर ढल्दा घर बनाउने मात्रै सोच्यो । घरको कला, इतिहास, संस्कृति र वास्तु जोगाउने बारेमा सोचेन ।”

नेपाल सरकारले भूकम्पले क्षति भएका घरहरू पुनर्निर्माण गर्ने कार्यक्रम ल्यायो । सहयोग ल्यायो । पुनर्निर्माण प्राधिकरणले अहिले औपचारिक रूपमा काम सम्पन्न गरेको छ । तर, पुनर्निर्माण प्राधिकरण खासगरी नेपाल सरकारको इन्जिनियरिङ विधाले गाउँको कलालाई चिनेन । गाउँको वास्तुलाई चिनेन । यसले घर ढल्दा घर बनाउने मात्रै सोच्यो । घरको कला, इतिहास, संस्कृति र वास्तु जोगाउने बारेमा सोचेन । सरकारले तोकेको सूत्रमा घरनक्सा पासदेखि सरसामानहरू प्रयोग गरेर घर बनाउने नियम बनाइयो । यो सरकारी उर्दी र नियममा स्थानीयहरूसँग सोधीखोजी, उनीहरूलाई सहभागी गरिँदै गरिएन । उनीहरूको धारणा बुझ्दै ब्युँझिएन । बलियो घर बनाउने नाममा पुरानो शैली, स्थानीयस्तरमा उपलब्ध सामान, स्थानीय सिप र तरिका, वातावरण अनुकूलको घर बनाउन ध्यानै दिइएन । कंक्रिटदेखि प्रिफाइबको घर बनाउन जोड दिइयो । त्यसका पीडित बने छविनारायणहरू ।

“सरकारले लाभग्राही भने पनि उनीहरूको वास्तुकला, संस्कार, संस्कृतिदेखि कलाको पक्षमा पुरानो घरसँग सकिएको बिरासत हेर्दा उनीहरू लाभग्राही होइनन् । उनीहरू पीडित हुन् ।”

“माया त पुरानै घरको थियो नि के गर्नु भूकम्पले माया गरेन”, हरिनारायणको दुःखेसो छ, “नहुनुभन्दा केही हुनु राम्रो हो भनेर यसैमा जबर्जस्त चित्त बुझाउनुपरेको छ ।”

‘माया त पुरानै घरको थियो नि के गर्नु भूकम्पले माया गरेन’, हरिनारायणको दुःखेसो छ, ‘नहुनुभन्दा केही हुनु राम्रो हो भनेर यसैमा जबर्जस्त चित्त बुझाउनुपरेको छ ।’छविनारायण जस्तै अर्का पीडित हुन्, उनकै छिमेकी हरिनारायण राजभण्डारी । हरिनारायणको पुरानो घरको अहिले नामोनिसाना छैन । उक्त ऐतिहासिक घर भएको ठाउँमा नयाँ आधुनिक भनिएको घर उभिएको छ । पुरानो घर पुर्खाहरूको डिजाइन, सिप अनि स्थानीय उपलब्ध सामग्रीहरूले त्यहाँको वातावरण सुहाउँदो बनेको थियो । नयाँ घर इन्जिनियर सुमन राईले डिजाइन गरेका छन् । तीन तलाको घर २०७५ ताका पुरा भएको थियो । अहिले हरिनारायणका परिवारहरू यसै नयाँ घरमा बस्दै आएका छन् । ‘माया त पुरानै घरको थियो नि के गर्नु भूकम्पले माया गरेन’, हरिनारायणको दुःखेसो छ, ‘नहुनुभन्दा केही हुनु राम्रो हो भनेर यसैमा जबर्जस्त चित्त बुझाउनुपरेको छ ।’ हरिनारायण राजभण्डारीका छिमेकी सानुमाया श्रेष्ठदेखि गणेश राजभण्डारीहरूको घरको हालत पनि यस्तै छ । दोर्पु बजारका नेवार समुदायका मात्रै पुराना कलात्मक घर विनाश भएका छैनन् । उनीहरूसँग बस्दै आएका शेर्पा समुदायका मौलिक घरहरू पनि त्यस्तै समस्यामा परेका छन् । त्यस्तै समस्यामा परेका एक हुन ग्याल्जेन शेर्पा । ग्याल्जेन शेर्पाको पनि शेर्पा मौलिकताको घर थियो । त्यो भूकम्पबाट भत्कियो । अहिलेको घर आधुनिक बनेको छ । ग्याल्जेनलाई भने पुरानै घर प्रिय लागेको छ । पुरानो घरमा माया धेरै परेको उनी बताउँछन् । पुर्खाले डिजाइन गरेको पुरानो घरमा बस्न नपाएका ग्याल्जेन अहिले इन्जिनियर रोशन दुलालले डिजाइन गरेको घरमा बस्दै आएका छन् । २०७२ सालमा आएको भूकम्पले सोलुखुम्बुका धेरै संरचनामा असर गरेको थियो । स्थानीय सरकारसँगको तथ्याङ्कअनुसार १२ हजार ४ सय २८ पूर्ण लाभग्राही भएको सरकारी तथ्याङ्क छ । ५४५ जना भने प्रबलीकरण लाभग्राही थिए । तिनै सरकारी भाषाका ‘लाभग्राहीहरू’ हुन् छविनारायण राजभण्डारी, हरिनारयण राजभण्डारी, सानुमाया श्रेष्ठ, गणेश राजभण्डारीदेखि ग्याल्जेन शेर्पाहरू । सरकारले लाभग्राही भने पनि उनीहरूको वास्तुकला, संस्कार, संस्कृतिदेखि कलाको पक्षमा पुरानो घरसँग सकिएको बिरासत हेर्दा उनीहरू लाभग्राही होइनन् । उनीहरू पीडित हुन् । पुरानो कला संस्कृतिलाई जोगाउँदै अगाडि जान नसक्ने सरकारी इन्जिनियरिङको मारका परेकाहरू हुन् उनीहरू । बलियो बनाउने नाममा सलाइका बट्टा जस्तै संरचनाहरू ठड्याएर सबैलाई उस्तै बनाउने कुरामा सरकार खुसी छ । तर, सरोकारवालाहरू दुःखी छन् । पुरानो तरिकाले बन्ने घर कमजोर भन्ने सरकारी तर्कमा उनीहरू आफ्ना कयौँ भूकम्प झेलेर पनि उभिएका सुरक्षित संरचनाहरू देखाएर अविश्वास गर्छन् । सरकारले चाहेमा पुरानो वास्तुकला, संस्कार र संस्कृति जोगाएरै घर बनाउन सक्ने सम्भावना छविनारायण राजभण्डारीलाई लाग्छ ।

‘हामीले खोजेको त पुरानै मौलिक घर हो । सरकारले पुरानो घर पुरानै तरिकालाई बलियो बनाउन सक्नुपर्ने हो सकेन,’ छविनारायणको गुनासो छ, ‘सरकारले त देशको इतिहास, संस्कृति, वास्तु र आदिवासी कलालाई जोगाउनेतर्फ सोच्नुपर्ने थियो । त्यो सोचेको त परै जाओस् गरेकोसम्म पनि पाइएन ।’ पुराना घर बनाउने मिस्त्री र सामानहरू नपाइने भनिए पनि सरकारले चाहेमा त्यी सम्भव हुने छविनारायणको बुझाइ छ । उनी भन्छन्, ‘सरकारले राम्रो आर्थिक सहजीकरण मात्रै गरिदिओस् न, एक से एक काम गर्ने सिप भएका दक्ष कामदार अहिले पनि छ । मान्छेलाई हौसला र पैसा नभएर मात्रै पुराना कुरामा ध्यान नगएको हो । हौसला हुनासाथ सबै कुरा हुन्छ ।’

“हामीले खोजेको त पुरानै मौलिक घर हो । सरकारले पुरानो घर पुरानै तरिकालाई बलियो बनाउन सक्नुपर्ने हो सकेन”, छविनारायणको गुनासो छ, “सरकारले त देशको इतिहास, संस्कृति, वास्तु र आदिवासी कलालाई जोगाउनेतर्फ सोच्नुपर्ने थियो । त्यो सोचेको त परै जाओस् गरेकोसम्म पनि पाइएन ।”

छविनारायणको कुरामा अरू छरछिमेकीहरू पनि सहमत छन् । सहमत हुनेमा नेपाली मौलिकता नेपाली घरहरूमा हुनुपर्ने पक्षमा बोल्नेहरू पनि छन् । तर, सरकार र सरकारी निकाय यो कुरामा किन मौन छ ? यो मुद्धामा सरकारले किन ध्यान दिएको छैन ? किन गम्भीरता देखाएको छैन ? जसरी काठमाडाँैका सम्पदाहरूलाई पुरानै शैलीमा बनाउन सरकारले खर्च गर्न तयार भयो, ठीक त्यसैगरी व्यक्ति समुदायका संरचनाहरूमा खर्च किन गरिएन ? यी र यस्ता सवाल गम्भीर छन् ।

यो मुद्दा केवल सोलुखुम्बु सदरमुकाम नजिकैको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पु बजारको मात्रै होइन । यो मुद्दा २०७२ सालपछिको भूकम्पबाट भएको क्षतिलाई पुनर्निर्माण गर्ने सवालमा भएको कार्यक्रमको मात्रै होइन । यो त नेपाली परम्परागत घरहरूलाई पछिसम्म जोगाउने, थप बलियो बनाउने, मौलिकता जोगाउँदै आधुनिकीकरण गर्ने पक्षमा सरकारले आफ्नो इन्जिनियरिङ व्याकरण किन मिलाउँदैन भन्ने सवाल हो । यो त नेपालका गाउँगाउँमा हुने घरहरूका मौलिकतापछिका पुस्ताहरूलाई पनि जस्ताको तस्तै देखाउन राख्ने सवाल हो । यसमा सरकार गम्भीर हुनुपर्छ । सरकारी इन्जिनियरिङ क्षेत्रले यो विषय बुझ्नुपर्छ ।

The graphics, views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Centre for Social Change.

लेखक परिचय: विराट अनुपम पत्रकार हुन् । पर्यटन, कूटनीति र वातावरण लेखनमा रूचि राख्ने उनी नेपाल प्रेस तथा राष्ट्रिय समाचार समितिका सिरियर रिपोर्टर हुन् । नेपालबाहिर उनका अमेरिकाको डिप्लोम्याट, इटालीको इन्टर प्रेस सर्भिस, बेलायतको थर्ड पोल तथा बंगलादेशको डेली स्टारमा आलेखहरू आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

©2021 Centre for Social Change, Kathmandu