Badi women in Kathmandu demonstrate to demand their rights. Credit: Ghanshyam Chhetri/IPS.
लेखक: कर्णबहादुर नेपाली (आलोक)
१. विषय प्रवेश
युगौँदेखि जातीय भेदभाव तथा छुवाछुतजस्तो अमानवीय व्यवहारबाट ग्रसित दलित समुदायभित्रको एक जाति हो वादी समुदाय । पश्चिम नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वादीहरूको बस्ती रहेको छ । कर्णालीको दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट र रुकुम पश्चिम, सुदूरपश्चिमको अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली र कञ्चनपुर, लुम्बिनी प्रदेशको रोल्पा, रुकुम, बाँके, बर्दिया, प्युठान र दाङमा धेरै वादीको बस्ती छ । गण्डकी प्रदेशको कास्की र बागलुङमा पनि वादी छन् । वि.सं.२०६८ सालको जनगणनाअनुसार वादी समुदायको जनसङ्ख्या ३८ हजार ६०३ छ । जसमध्ये १८ हजार २९८ पुरुष छन् भने २० हजार ३०५ महिला छन् । २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालका ५३ जिल्लामा वादी समुदायको बस्ती छ । सबैभन्दा बढी कास्की ४ हजार ४६, डोटीमा २९ सय ५८, कैलालीमा २८ सय २२, सुर्खेतमा १८ सय ५५, दाङमा १७ सय १८, जाजरकोटमा १२ सय १७, कञ्चनपुरमा १२ सय ५८ र बाजुरामा १८ सय ७८ जना वादी बसोबास गरिरहेका छन् । तर, अन्य जिल्लाको तुलना कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वादी समुदायको बाहुल्यता रहेको छ ।
२. वादी समुदायको ऐतिहासिक सन्दर्भ
वादी शब्दका सम्बन्धमा विभिन्न शब्दकोशहरूमा विभिन्न तरिकाले उल्लेख गरिएको पाइन्छ । यी शब्दकोशमा यो जातिलाई नाचगान गर्ने र देह व्यापारमा संलग्न जातिको रूपमा चित्रित गरिएको पाइन्छ । वादी शब्द संस्कृत भाषाबाट लिइएको र यसको तत्कालीन अवस्थाको अर्थ ‘वाद्यवादन’ भन्ने बुझिन्छ । वादी समुदाय उत्कृष्ट वाद्यवादक र वाद्यवादनका सामग्री निर्माण गर्ने समुदाय हो । यस समुदायको स्पष्ट ऐतिहासिक श्रोतको अभाव भएता पनि वादी शब्दको उत्पत्तिका सम्बन्धमा विभिन्न स्रोतका आ–आफ्नै भनाई पाइन्छ । जसमध्ये वादी जाति वाद्यवादनसँग सम्बन्धित भएकोले वादी जातिको जीवनयापनको आरम्भ नाचगानबाट भएको र सोको लागि प्रयोग गरिने विभिन्न किसिमका वाद्यवादनका सामग्रीहरू प्रयोग गर्ने र बनाउने जाति हो ।
विभिन्न बाइसे, चौबिसे, भुरे, टाउके राजा-रजौटाहरूद्वारा आफ्नो दरबारमा शुभ कार्य, पूजा, व्रतबन्धन, विवाह आदि कार्यमा नाचगान तथा मनोरञ्जनका लागि यिनीहरूलाई नेपाल तथा भारतका विभिन्न ठाउँहरूबाट ल्याइएको हुन सक्दछ । सुरुवातमा वाद्यवादन गर्नेलाई वादक र नृत्य वा अभिनय गर्नेलाई पात्र वा पात्री भनिन्थ्यो जुन शब्द पछि अपभ्रंश भएर वादी र पातरको रूपमा रूपान्तरित भएको मानिन्छ । यद्यपि यो अध्ययन र अनुसन्धानको विषय बनेको छ । वादी भनेको खास गरी पश्चिम नेपालको उच्च पहाडी भूभागदेखि तराईसम्म फैलिएका, काठ र छालाबाट वाद्यवादनका साधन (जस्तो मादल, बाउँ, ढोल, डमरु, सारङ्गी तबला) आदि बनाउने, बजाउने, बिक्री गर्ने, माटाका सामग्री बनाउने, साट्ने, माछा मार्ने, टडिया (थारू महिलाले लगाउने माटाको साचोमा चाँदी वा गिलेटद्वारा निर्मित) बनाउने, लोकगीत, लोकसङ्गीत, लोकनृत्यद्वारा राजादेखि रैतीसम्मलाई मनोरञ्जन प्रदान गर्ने र सामाजिक रूपमा मागेर जीविका चलाउने अधिकार पाएको शिल्पी तथा कलाकार जाति पनि भनिन्छ ।
वादी समुदाय भारतको राजस्थान उद्गम रहेको फिरन्ते विडी जातिकै एउटा हाँगा मानिन्छ । चौधौँ शताब्दीमा हिन्दु मुस्लिम बीच धार्मिक दङ्गा फैलिएपछि धर्म जोगाउन भारतका विड जातिहरू भारतकै उत्तरप्रदेशतर्फ लागे । उत्तरप्रदेशमा उनीहरू विडिया भनिन थाले । भाग्दाभाग्दै नेपाल छिरेर सल्यान आई पुगेको समूह विडबाट अपभ्रंश भई वादी भन्न थालिएको मानिन्छ भन्ने पनि भनाई रहेको छ । वादी समुदाय अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हो । वादी समुदाय हिन्दु धर्म मान्ने दलित समुदायभित्रको मानिन्छ । दलित समुदायमा पनि पछाडि पारिएको समुदायको रूपमा वादीलाई लिने गरिन्छ । वादी समुदायको छुट्टै भाषा र संस्कृति स्थापित र पहिचान कायम हुन सकेको पाइँदैन । नेपालमा वादी समुदायभित्र पनि विभिन्न खालका थरहरू छन् ।
३. वादी समुदाय र यसको सामाजिक, आर्थिक र राजनीतिक अवस्था
यस समुदाय दलित भित्रको पछाडि पारिएको अल्पसङ्ख्यक समुदायको रूपमा रहेको छ । यो समुदाय दलित समुदायको रूपमा रहेको र दलितभित्र पनि अझ दलित समुदायको रूपमा हेरिन्छ भन्ने मानिन्छ । यो समुदाय अल्पसङ्ख्यकको रूपमा रहेको छ । यो वर्ग सीमान्तकृत र कमजोर वर्गको रूपमा रहेको छ । समुदायप्रति परम्परागत रूपमा हेरिँदै आएको दृष्टिकोण तथा उनीहरू शिक्षा र सबै खालको अवसरबाट वञ्चित रहेकोले विकासको मूलप्रवाहबाट धेरै टाढा रहेको पाइन्छ । यस समुदायको परम्परागत पेसाहरूले दैनिक जीविकोपार्जन गर्न समेत धौ धौ परिरहेको छ । सामाजिक रूपमा बञ्चितीकरणमा परेको यस समुदायको सामाजिक हैसियत, मर्यादा, आत्मसम्मान भन्ने विषयलाई अहिलेको हाम्रो समाजले धेरै दूरको विषय बनाएको छ । हाम्रो व्यवस्था तथा संरचनाले नै उनीहरूलाई पेसाको रूपमा नाचगान लगायतका वाद्यवादनका साधनहरू बनाउने शिल्पी बनाइदियो तर यसले सामाजिक सम्मानको सट्टा भेदभाव तथा छुवाछुत बेहोर्नुपर्ने अवस्थाको सिर्जना भयो ।
संवैधानिक तथा कानुनी हिसाबले केही प्रावधान गरेको भएता पनि वादी समुदायको शिक्षामा पहुँच अहिले पनि एकदम दयनीय अवस्थामा रहेको पाइन्छ । करिब दश वर्षअघि वादी समुदायको अध्ययन गर्न गठित कार्यदलद्वारा तयार पारिएको अध्ययन प्रतिवेदनअनुसार वादी समुदायको शैक्षिक अवस्था औसत राष्ट्रिय अवस्था भन्दा न्यून देखिएको थियो । करिब ५४ प्रतिशत परिवार निरक्षर रहेको, विद्यालय तहसम्म अध्ययन गर्ने कूल विद्यार्थीमध्ये करिब २५ प्रतिशतले बीचैमा कक्षा छाड्ने गरेको र यसरी बीचैमा कक्षा छाड्ने कारणमा गरिबी नै प्रमुख कारण रहेको छ । यस परिवारमा करिब १५ प्रतिशत बालमजदूर रहेका, यिनीहरू विशेष गरी ज्याला मजदूरी र घरायसी कार्यमा भारत तथा स्वदेशका विभिन्न सहरमा काम गर्ने गरेको देखिन्छ । वादीहरू समुदायका बालबालिका गरिबी र सामाजिक भेदभाव तथा सामाजिक रूपमा गरिने अपहेलित व्यवहारका कारण राष्ट्रिय रूपको शैक्षिक अवस्थाभन्दा तल्लो अवस्थामा छन् ।
आर्थिक रूपमा उनीहरूको आफ्नो जमिन तथा गरिखाने कुनै पनि सम्पत्ति छैन, लगभग वादी समुदायको जम्मा घरधुरीमा ५८ प्रतिशतको हाराहारीका व्यक्तिहरूको बस्ने बास तथा आफ्नो नाममा नेपालको कुनै पनि भागमा जमिन छ जस्तो लाग्दैन, उनीहरू एक प्रकारले फिरन्ते जातिको रूपमा रहे । नाचगान, माछा मार्ने जस्ता व्यवसायले उनीहरूलाई कहिल्यै एक ठाउँमा स्थिर भएर बस्नुपर्छ भन्ने नै भएन वा भनौँ राज्य वा राज्य संरचनामा बस्ने व्यक्तिहरूले कहिले पनि उनीहरूलाई आर्थिक उपार्जनका तथा सम्पत्तिको मालिक बनाउने तरिकाले सहजीकरण गरेनन्, जहिले पनि उपभोगका साधनका रूपमा मात्र लिइ रहे । विद्यमान परिवर्तित अवस्थामा समेत वादी समुदायले आफ्नो जीविकोपार्जनका लागि आयमूलक, सीपमूलक वा रोजगारमूलक व्यवसायहरू आर्थिक अभाव कै कारणले गर्न सकिरहेका छैनन् । उनीहरू आर्थिक गरिबी मात्र हैन कि मनोसामाजिक तथा संरचनात्मक गरिबी समेत रहेका छन् ।
राजनीतिक रूपमा वादी समुदायले विभिन्न परिवर्तनका आन्दोलनमा पनि राजनीतिक रूपमा योगदान नगरेको होइन तर यस समुदायले राजनीतिक प्रतिनिधित्व तथा सम्मान पाउन सकेको छैन । लामो समयको संघर्ष पश्चात् नेपाल सरकारले वादी समुदाय उत्थान विकास समिति बनाएको थियो त्यसको पनि खासै प्रभावकारी व्यवस्थापन हुन सकेको छैन, उल्टै यसको खारेजी गर्न लागिरहेको भन्ने सूचनाहरू पाइन्छन् । वादी समुदाय सामाजिक आर्थिक रूपमा पछाडि परेको सीमान्तकृत वर्ग भएकाले राजनीतिक तथा नीति निर्माण तह र प्रक्रियामा प्रतिनिधित्व र भूमिका नरहेको वर्गको रूपमा रहँदै आएको छ । वादी समुदाय लामो समयदेखि बहिष्करण र बञ्चितिको अवस्थामा रहेकोले विगतमा राजनीतिक क्षेत्रमा संलग्नता शून्य प्राय रहेकोमा हालका दिनहरूमा न्यून रूपमा संलग्नता रहेको पाइन्छ । राज्यका नागरिक हुन् भन्ने नै अनुभूति गर्न नसकेको भन्ने यो समुदायका व्यक्तिहरूका गुनासो रहेको छ । यो समुदायको राजनीतिक, प्रशासनिक लगायतका नीति निर्माण गर्ने तहमा यद्यपि उल्लेख्य रूपमा पहुँच हुन सकेको छैन । हालका दिनहरूमा क्रमिक रूपमा विद्यालय, स्थानीय सामुदायिक संस्था, स्वास्थ्य चौकी, वन उपभोक्ता समूहमा न्यून सङ्ख्यामा सहभागिता हुन थालेको छ । निर्वाचनको तथ्याङ्कलाई हेर्दा, गत स्थानीय तहको निर्वाचनबाट ३ जना निर्वाचित र प्रदेशको चुनावबाट पनि १ जना समानुपातिक सांसद निर्वाचित भएका छन् । राजनीतिक दलको भातृ संगठनमा केही व्यक्तिहरू वादी समुदायबाटै पनि स्थानीय, जिल्ला, प्रदेश तथा केन्द्र सम्मको सीमित पहुँचमा रहेका छन् ।
वादी समुदाय वास्तवमा शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य तथा राजनीतिक र सांस्कृतिक हिसाबमा सबै तरिकाले पछाडि पारिएको छ । हाम्रो समाजले यो समुदायलाई नकारात्मक रूपमा मात्र हेर्ने गरेको पाइन्छ तर उनीहरू विभिन्न समयमा राज्यलाई दिगो व्यवस्थापनको माग गरिरहेका छन् । यो समुदायले आफूलाई नयाँ तरिकाले स्थापित गर्न पनि निरन्तर आवाज उठाइरहेको छ ।
कानुनी दृष्टिकोणले सीमित कानुनहरू बनाए पनि ती सबै दलितहरूलाई लागु हुने गरी कानुन निर्माण गर्दा पुछारमा रहेको वादी समुदायलाई यसले प्रत्यक्ष रूपमा लाभ हुन सकेको छैन ।
४. उपसंहार
नेपालमा वादीहरूको ऐतिहासिक पक्ष र उनीहरूको उत्पत्तिका सम्बन्धमा यकिन तथ्याङ्क र अभिलेखको अभाव भए पनि नेपालको मध्य र सुदूरपश्चिममा सुरुका दिनमा बसोबास रहेको र अहिले देशका सबै जिल्लामा उपस्थित रहेको कुरा तथ्याङ्कहरूबाट देखिएको छ । यो समुदाय अल्पसङ्ख्यक र सीमान्तकृत वर्गका रूपमा रहेको छ । गरिबी, अशिक्षा, पछौटे, भूमिहीनता जस्ता समस्याहरू यस समुदायले ब्यहोर्दै आएको पाइन्छ । मानव अधिकारका दृष्टिले पनि समग्रतामा वादी समुदायको मानव अधिकारको अवस्था नाजुक नै रहेको देखिन्छ ।
वादी समुदायले विगतदेखि भूमि लगायत विभिन्न माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् । विगत , २०५२–५३ सालमा नेपालगन्जमा ‘कि गाँस–बास देऊ, होइन भने स्वतन्त्र पूर्वक पेसा गर्न देऊ’ भन्ने मूल नारा लगाएर आन्दोलन भएको थियो । ‘विषेश गरी कैलालीको बलचौरमा २०५५ सालमा भूमिको माग गर्दै आन्दोलन भएको थियो,’ र ‘त्यसयता धेरै आन्दोलन भएका छन् । वि.सं. २०७७ सालमा सुर्खेतमा भइरहेको आन्दोलन अहिले त्यसको निरन्तरता हो ।’ वादी समुदायले आन्दोलन गर्छन्, सरकारले कुनै खालको वार्ता गर्छ अनि त्यसको कार्यान्वयन गर्दैन ।
त्यस कारण, वादी समुदायको सर्वाङ्गीण विकास गरी दिगो विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्न पनि शिक्षामा उच्च शिक्षासम्म नै निःशुल्क, नेपालको संविधान २०७२ ले उल्लेख गरेजस्तै सम्पूर्ण भूमिहीन त्यसमा वादी समुदायलाई घडेरी मात्र हैन कि आधारभूत रूपमा खेती गरी खाने समेतको जग्गाको व्यवस्था, आयमूलक तथा रोजगारमूलक सीपको व्यवस्था, वादी समुदायका लागि मात्र लक्षित गरी विशिष्ट कानुन, नीति, बजेट तथा संरचना निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । हालसम्म वादी समुदायसँग राज्यले गरेका विभिन्न आन्दोलनका सम्झौताको व्यवहारमा कार्यान्वयन गर्नुपर्ने । वादी समुदाय उत्थान विकास समितिलाई एक सशक्त , सबल र प्रभावकारी संयन्त्र बनाई वादी विकास प्राधिकरणको रूपमा कार्य गर्नुपर्छ । यो अल्पसङ्ख्यक समुदायको रूपान्तरणका लागि गरिएको विकास नमुना अरू पछाडि पारिएको वर्ग समुदायको रूपान्तरणमा समेत उपयोगी हुनसक्छ , चेतना भया ।
The graphics, views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Centre for Social Change.
कर्णबहादुर नेपाली (आलोक)
सुशासन, मानवअधिकार, सामाजिक समावेशीकरण, पैरवी र परियोजना व्यवस्थापन विज्ञ
©2021 Centre for Social Change, Kathmandu