pole with direction signs

स्थानीय सरकार : मनमौजी अभ्यास

लेखक: लालबहादुर ऐरी

लोकतान्त्रिक व्यवस्थाका लाभ तल्लो स्तरसम्म पुर्‍याउन संघात्मक शासन व्यवस्था उत्तम शासकीय प्रणाली हो । यो व्यवस्थाका अरु तमाम बिशेषताहरुलाई छाडेर सेवा प्रवाहका दृष्टिकोणबाट हेर्दा राज्यको उपस्थिति नागरिकको घरदैलोसम्म लैजान शासन पद्धतीको यो स्वरुप निकै प्रभावकारी छ । सिद्धान्तः आवधिक निर्वाचनबाट नागरिकले आफ्नो प्रतिनिधि छान्ने र उसैले राज्यको प्रतिनिधिका रुपमा पनि काम गर्ने मान्यता यसको सबैभन्दा आधारभूत पक्ष हो । यस प्रणालीको अर्को न्यूनतम स्विकारोत्ती कुनै पनि व्यवस्था कोरा कागज वा सिद्धान्त मात्रै होइन, नागरिकको अपनत्व र सेवामा सन्तुष्टिको सुनिश्चितता पनि हो । किनकी, सरकारका नीति, कार्यक्रम र नेतृत्व मतदातालाई अर्थात् लाभग्राहीलाई मन परेन भने निर्वाचन मार्फत् आफ्ना प्रतिनिधि फेर्न सक्छन् । संघात्मक व्यवस्थाका यिनै विशेषताको लाभ लिन हामीले पनि यही व्यवस्था कायम गरेका छौं ।


७० वर्षको राजनीतिक अस्थिरताको अन्त्य गर्दै संविधान सभाबाट जारी संविधानमा संघात्मक शासन व्यवस्थालाई अगिंकार गरिएको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हुने कायम गरिएको छ । संविधानको प्रस्तावनामै यो कुरा लेख्ने बिन्दुसम्म आइपुग्दा नेपाली राजनीतिका उतारचढाव र लोकतन्त्र प्राप्तिका संघर्षले पनि नेपालमा यो व्यवस्थाको वकालत किन गरियो भन्ने कुरालाई पुष्टि गर्छ । संविधान निर्माण पश्चातको तीन तहको शासकीय व्यवस्था अनुरुपको पहिलो कार्यकाल यतिबेला उत्तराद्धतिर छ । त्यसैले संघात्मक शासन व्यवस्थाका सिद्धान्त र आयाम बारे धेरै शब्द खर्च नगरी हाम्रो अभ्यास कतातिर गइरहेको छ भन्ने कुरामा केन्द्रित हुन आवश्यक ठान्छु ।


जनताको नजिकको सरकारका रुपमा स्थानीय सरकार अर्थात् स्थानीय तह रहन्छ । त्यसैले यसलाई घरदैलोको सरकार पनि भनिन्छ । नारा वा सिद्धान्तले भन्ने कुरा र व्यवहारिक रुपमा नागरिकले ‘मेरो घर छेउमै, मेरो सरकार’ भन्ने कुराको अनुभूति कत्तिको गरेका छन् भन्ने कुराको समिक्षा हुन आवश्यक छ । विकेन्द्रिकृत शासनको बिकल्पमा हामीले संघात्मक प्रणालीलाई अपनाएका हौं । द्वन्द्वकाल र संक्रमणकालिन अवस्थामा बाहेक स्थानीय निकायका रुपमा रहेका संरचनामा नागरिकका प्रतिनिधि थिए नै । तिनको विस्थापन गर्दा त्योभन्दा नजिकको र शक्ति सम्पन्न सरकारको परिकल्पनासहित वर्तमान व्यवस्था लागू गरिएको हो । मुलुकभर सात सय ५३ वटा स्थानीय सरकार छन् । जनताको आँगनका यी सरकारप्रति नागरिकको अन्तुष्टि कस्तो छ ? अहिलेको अहम् प्रश्न हो ।


संविधान जारी भएपछि स्थानीय सरकार निर्वाचित भएको यो पहिलो कार्यकाल हो । जसको तीन वर्ष बितेको छ । तर, निर्ममताका साथ भन्नुपर्छ–स्थानीय सरकारप्रति नागरिकको कहीकतै सन्तुष्टि छैन । स्थानीय सरकार र त्यहाँ रहेका जनप्रतिनिधिका कार्यशैलीकै कारण समग्र व्यवस्थाप्रति नै नागरिक भरोसा टुट्दै गएको छ । संघीयताका लागि लडेका नागरिकमै यसकाप्रति बितृष्णा बढ्दै गइरहेको छ । ‘एक राजाका स्थानमा गौडागौडामा राजा भए’ भन्दै जनताको निरासा पोखिदैछ । तीनवर्षमै यत्ति ठूलो निरासा कसरी भयो होला ? यसका अभ्यासकर्ताले कठोर भएर समिक्षा गर्नुपर्छ ।


आजका दिनको न्यूनतम स्विकार के हो भने, स्थानीय सरकारले जनताको चाहना अनुसार काम गर्न सकेनन् । होला, नागरिकका अपेक्षा बढी थिए, जुन पूरा हुन सकेनन् । तर, ती अपेक्षाको न्यूनतम सम्बोधन पनि नहुनुका पछाडिको दोषी निर्वाचित प्रतिनिधि, उसको दल या व्यवस्था के हो ? यसको जवाफ नागरिकले पाउनुपर्छ । तर, राजनीतिक तहबाट यसको बचावट व्यवस्था नै हाम्रा लागि उत्तम थिएन भने झै भइरहेको छ । जुन कुनै बिन्दुमा पुगेर व्यवस्थाका लागि आत्मघाती हुनसक्छ । स्थानीय सरकारले प्रदेश र संघ, प्रदेशले संघ र स्थानीय तथा केन्द्र सरकारले तलका सरकारलाई दोषी देखाएर उम्किने प्रवृति यसको गतिलो उदाहरण हो ।


केन्द्र सरकारले तल्ला सरकारलाई आफ्ना अंगको रुपमा बुझेको बितेका तीन वर्षबाट स्पष्ट भएको छ । यो कुरा कुनै न कुनै रुपमा अभिव्यक्त भएको छ । तलका सरकार पनि माथिल्ला सरकारलाई देखाएर आफू जोगिन खोज्ने । उत्तरदायित्व र जवाफदेहीता पनि यो व्यवस्थाको आधारभूत चरित्र हो भन्ने कुरा नै स्वीकारेको देखिएन । तल्लो तहका सरकारलाई सवल र सक्षम बनाउने कुरामा केन्द्रको प्रभावकारी भूमिका रहेन । समयमा कानुन निर्माण र अधिकार प्रत्योजन नहुँदा तल्लो तहमा अलमल रहिरह्यो । संघ सरकारकै अनुचित प्रभावले कतिपय अवस्थामा स–साना प्रशासनिक काम पनि स्थानीय सरकारले गर्नै नसकिएको देखियो । देखिएका जटिलता फुकाउनेभन्दा एकअर्कालाई दोष दिएर पन्छिने कार्यले सरकार–सरकारबीच अस्वभाविक द्वैष समेत सिर्जना भएको देखिन्छ । यसको सबैभन्दा ठूलो कारण शक्तिको अनुचित अभ्यास हो । यो कुरामा सुधार भएन भने आगामी दिनमा पनि उत्तरदायी सरकारको असली अभ्यास भएको देख्न पाइने छैन ।


‘डेलिभरी’ संघीयताको अति नै सुन्दर पक्ष हो । अझ, स्थानीय सरकारको सबैभन्दा बलियो बिशेषता र हतियार नै यही हो । तर, हाम्रा स्थानीय तहले आठ सय कर तिर्न आठदिनको बास हुने खालको संरचना बनाए । गाई–भैसी बिक्रीदेखि तरकारीमा समेत कर लगाए, त्यो अनुसारको सेवा प्रवाह भने एक इन्च सुधार भएन । कर लिनुको सामान्य अर्थ सेवा दिनु पनि हो भन्ने बुझाई स्थानीय सरकारमा देखिएन । नागरिकमा कर थुपार्ने होडबाजी नै भयो । भएका स्रोत साधनको समुचित प्रयोगबाट आम्दानीका बाटो पहिल्याउने काम नै भएन । स्थानीय सरकारको आम्दानी बढाउन रचनात्मक विधिमाथि कहिल्यै छलफल हुन सकेन । सेवामा साविकभन्दा एक रत्तिले सुधार नहुने अनि करमाथि कर मात्रै थुपारिएपछि नागरिकमा वितृष्णा सिर्जना हुनु अन्यथा होइन ।


स्थानीय तहमा सहभागीतामूलक योजना छनौट प्रणाली कानुनले नै निर्धारण गरेको छ । बजेट, नीति तथा कार्यक्रम ल्याउने मिति संविधानमै ताकिएको छ भने प्रक्रिया, प्राथमिकता, मापदण्ड स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था गरियो । कानुनले वस्ती तहबाटै मागमा आधारित योजना छनौट प्रक्रियाको व्यवस्था गरेको छ । तर, अधिकांश स्थानमा कानुनभन्दा जनप्रतिनिधिको तजबिजले काम भइरहेको छ । तराईका केही जिल्लामा त, स्थानीय सरकार प्रमुखले एकलौटी गरेको भन्दै आन्दोलन र धर्ना समेत भए । विवादकै कारण तोकिएको समय सीमाभित्र बजेट पास नभएका स्थानीय तहका कयौं उदाहरण छन् । निर्वाचित जनप्रतिनिधिले नै पालिकामा ताल्चा लगाएका समाचारहरु आइरहन्छन् । योजना र बजेटमा स्थानीयको आवश्यकताभन्दा जनप्रतिनिधिको स्वार्थ हावी भएको यो गतिलो उदाहरण हो ।


जनप्रतिनिधि आफैलाई मत दिने नागरिकमा यसरी प्रस्तुत भइरहेका छन् की–‘उनीहरु शासक होइन सेवक हुन्’ भनेर नागरिकले बुझ्ने कुनै ठाउँ छैन । पिर्के सलामी, आफ्नै सेवा सुविधामा ध्यान, महँगा सवारी साधनको प्रयोग लगायतका जीवन शैली तथा आचरणगत कुराले जनप्रतिनिधिलाई भोट दिने नागरिकले नै शासक मात्र होइन ‘छोटे राजा’ भन्न थालेका छन् । नागरिकका समस्या स्थानीय सरकारको प्राथमिकतामा कहिल्यै परेनन् । गाउँमा एम्बुलेन्स नपाएर नागरिकले मृत्युवरण गरिरहेका बेला जनप्रतिनिधि करोडाकौ गाडीमा हुँइकी रहेका छन् ।


संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प छैन । प्रारम्भमा भनिए झै व्यवस्था आफैमा खराब वा राम्रोभन्दा पनि यसको अभ्यास कसरी गरिन्छ भन्ने कुराले महत्व राख्दछ । जसका लागि यसका अभ्यासकर्ता दल र राजनीतिकर्मी महत्वपूर्ण हुन्छन् । हामीले प्रस्थान गरेको पहिलो बिन्दुमै यो व्यवस्थालाई बदनीयत गराउने काम भइरहेको छ । यसका पहिलो जिम्मेवार स्थानीय सरकार र त्यहाँ रहेका जनप्रतिनिधि नै हुन् । त्यसैले, अब समिक्षा गरौं, मनमौजी होइन, स्थानीय सरकारलाई विधि मूल्य, मान्यता र कानुनको अधिनमा राखौं । यसैमा यो व्यवस्थाको भविष्य पनि सुरक्षित रहन्छ ।

 

The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Centre for Social Change.

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लालबहादुर ऐरी लेखक, सञ्चारकर्मी हुन् । विगत डेढ दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । हाल कान्तिपुर टेलिभिजनमा उप–सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । विश्व विद्यालय अनुदान आयोगबाट अध्ययन बृति (फेलो) प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा आम सञ्चार तथा पत्रकारितामा एमफिल शोधार्थी पनि । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा रिर्पोटिङ, सम्पादनका साथै व्यवस्थापकीय काम गरेको अनुभव रहेको छ ।

©2021 Centre for Social Change, Kathmandu